हाइकिङ जाने हो ? काठमाडौं नजिकका यी ‘पर्फेक्ट’ रुटहरु थाहा पाउनुहोस्

काठमाडौं । काठमाडौं प्राय व्यस्त रहन्छ । जागिर खाने, व्यापार गर्ने, पढ्ने, किनमेल गर्ने आदिजस्ता भिन्नभिन्न जमातले यस शहरको चलायमान कायम गरेका छन् । सवारी साधनको हर्नको चर्को आवाज, भीडको होहल्ला, कामको चाप, प्रतिष्पर्धा, नैराश्यता, थकान यहाँको दैनिकी हो ।

यही दैनिकीबाट कहिलेकाहीँ धेरैलाई छुट्कारा पाउन मन लाग्दो हो । एकछिनलाई भएपनि जीवन हलुका गरी बाँच्न मन लाग्दो हो । हप्तामा एकदिन हुने विदाको दिनलाई कम्तीमा भरपूर रमाइलो गर्दै बिताउन मन लाग्दो हो । परिवार अथवा साथीभाइसँग मनोरञ्जन गर्दै गुणस्तरीय समय बिताउन मन लाग्दो हो ।

यदि त्यसो हो भने चिन्ता नलिनुस् लोकपथ डटकमले काठमाडौं नजिकका त्यस्ता केही स्थानहरुको सूची तयार पारेको छ जहाँ तपाई एकदिनको विदा रमाइलो गर्दै बिताउन सक्नुहुन्छ । विशेष गरेर प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, डाँडाकाँडा, वनपाखामा रम्न चाहनेहरुका लागि काठमाडौंमा वा नजिकै धेरै ठाउँहरु छन् जहाँ हाइकिङ गर्दै जान सकिन्छ । यस्ता ठाउँ जहाँ तपाई शहरको कृत्रिम झिलिमिली र नाइट क्लबको कानै खाने संगीतको छनकसमेत पाउनु हुने छैन । जुन शान्तिको खोजीमा भौतारिरहनुभएको छ त्यही प्राप्त गर्नसक्नुहुनेछ ।

ह्वाईट गुम्बा

स्वयंभुबाट करिब १५ किमिको दूरीमा रहेको सेतो गुम्बा १५ सय मिटरको उचाइमा अवस्थित छ । सेतो ढुङ्गाबाट निर्मित भएकाले यस गुम्बालाई सेतो गुम्बा भनिएको हो ।

उपत्यकाको दक्षिण भेगमा पर्ने यस गुम्बाका भित्ताहरुमा गौतम बुद्धको जीवन र बौद्ध संस्कृति झल्काउने किसिमका चित्रहरु पोतिएका छन् । त्यस्तै यसभित्र बुद्धका विभिन्न अवतारहरुको मूर्ति राखिएको छ । यहाँबाट सूर्योदय र सूर्यास्त सँगसँगै काठमाडौंको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

ककनी हाइक

यो रुटले तपाईलाई सानो तर सुन्दर गाउँ, ककनीसम्म पु¥याउँछ । जङ्गलको बाटो हुँदै पुगिने यस हाइकिङ रुटको पदमार्ग सहज छ । धेरै उकालो चढ्नु नपरेकाले बाटोमा मनोरम दृश्यको मजा लिँदै, फोटो खिच्दै, रमाइलो गर्दै जान सकिन्छ । पिकनिकका लागि पनि उपयुक्त गन्तव्य रहेको यस पदमार्गलाई साल, लालीगुराँसका रुखहरुले अझै सुन्दर बनाएको छ ।

काठमाडौंबाट करिब २५ किमिको दूरीमा अवस्थित ककनीबाट लाङटाङ, मनास्लु, अन्नपूर्ण आदिजस्ता हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ ।

फूल्चोकी हाइक

फूल्चोकी डाँडा समुद्री सतहदेखि २७८२ मिटरको उचाइमा अवस्थित छ । काठमाडौं उपत्यकाको सबैभन्दा उच्च पहाड भएकाले पनि फूल्चोकी डाँडाबाट उपत्यकाको दृश्य स्पष्ट र शालीन देखिन्छ ।

काठमाडौबाट ललितपुरको गोदावरी हुँदै साढे ३ घण्टाको पैदलयात्रा पश्चात् पुग्न सकिन्छ फूल्चोकी । यहाँबाट चौतर्फी हिमचुचुरो, विभिन्न प्रजातिका चराचुरुङ्गी तथा वनस्पतिको मनोरम दृश्यमा रमाउँदै पुगिने यस डाँडाबाट अन्नपूर्ण, गौरीशंकर, सगरमाथा, मनास्लु आदि हिमाल अवलोकन गर्न सकिन्छ ।

नगरकोट हाइक

काठमाडौदेखि पूर्व पर्ने नगरकोट समुद्री सतहबाट २१७५ मिटरको उचाइमा अवस्थित छ । नगरकोट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्नका लागि अत्यन्तै लोकप्रिय छ ।

यहाँबाट चारैतिर हिमाल देख्न सकिन्छ भने काठमाडौं उपत्यकाको दृश्य पनि नियाल्न सकिन्छ । साँखु, नेवारी गाउँबाट शुरु भइ करिब ५ घण्टाको पैदलयात्रा पश्चात् पुग्न सकिन्छ, नगरकोट । परिवार वा साथीभाइसँग राति बस्नेगरी गएको हो भने क्याम्पिङको मजा पनि लिन सकिन्छ ।

सुन्दरीजल हाइक

एकदिनको विदामा हाइकिङ जान चाहने तर, त्यसका लागि धेरै समय पैदलयात्रामा बिताउन चाहिँ नचाहनेका लागि सुन्दरीजल उपयुक्त गन्तव्य हुनसक्छ । काठमाडौबाट १५ किमी उत्तरतर्फ रहेको सुन्दरीजल पुग्न शिवपुरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्र हुँदै जानुपर्दछ । यहाँ पुग्न खासै उकालो चढ्नुपर्दैन ।

सुन्दरीजल हाइक यहाँको ट्रायल्स र रमणीय दृश्यका लागि मात्र नभएर नेपालको दोस्रो पुरानो जलविद्युत आयोजनाका लागि पनि लोकप्रिय छ ।

शिवपुरी हाइक

काठमाडौ वरिपरिको दोस्रो उच्च स्थान हो शिवपुरी । २५६० मिटरको उचाइमा रहेको यस ठाउँसम्म पुग्न बुढानिलकण्ठबाट यात्रा शुरु गर्नुपर्दछ ।

यहाँको आकर्षण भनेकै उकालो पदमार्ग, शिवपुरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रमा देखिने जंगली जनावर, चराचुरुङ्गी तथा वनस्पति, बुढानिलकण्ठ मन्दिर, नागी गुम्बा आदि हो । यहाँ बागमती नदीको मूलस्रोत बागद्वार समेत रहेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरु यस क्षेत्रमा साइकल यात्रामा पनि आउने गर्छन् ।

चन्द्रागिरी हिल्स

थानकोटबाट ७ किमिको दूरीमा रहेको चन्द्रागिरी हिल्स अहिले काठमाडौंको मूख्य पर्यटकीय स्थल बनेको छ । समुद्री सतहबाट २५५१ मिटर को उचाइमा रहेको यस स्थानसम्म पैदलयात्रा गर्दै पुग्न सकिन्छ भने केवलकारमार्फत् पनि जान सकिन्छ ।

चन्द्रागिरी डाँडाबाट काठमाडौ उपत्यकाको मात्र नभएर अन्नपूर्ण देखि सगरमाथासम्मको हिमश्रंखलाको परिदृश्य पनि अवलोकन गर्न सकिन्छ ।

चन्द्रागिरी हिल्समा अवस्थित मन्दिरको दर्शन गर्नका लागि पनि कतिपय आन्तरिक पर्यटकहरु यहाँ आउने गरेका छन् ।

चम्पादेवी हाइक

काठमाडौ र मकवानपुरको सिमानामा अवस्थित चम्पादेवी २२४९ मिटरको उचाइमा रहेको छ । काठमाडौंबाट २० किमिको दूरीमा रहेको चम्पादेवी प्राकृतिक सुन्दरता र धार्मिक महत्वको संगम हो ।

घना सालको जंगल छिचोल्दै अन्तिममा बौद्ध स्तुपासम्म पुग्न सकिन्छ ।

यहाँबाट लाङटाङ र अन्नपूर्ण हिमश्रंखला अवलोकन गर्न सकिन्छ ।

नमोबुद्ध हाइक

काठमाडौंबाट ३८ किमि पूर्वतिर लागेपछि पुगिन्छ नमोबुद्ध । धुलिखेलमा अवस्थित यो गुम्बाले पर्यटक र तीर्थालु दुवैलाई आकर्षित गरेको छ । यसको विशेषता भनेकै शान्त वातावरण हो ।

धुलिखेल आफैमा शान्त, सुन्दर ठाउँका रुपमा परिचित छ । त्यसमा पनि केही उचाइमा अवस्थित नमोबुद्धबाट देखिने चित्तकार्षक काठमाडौं उपत्यकाको दृश्यले कसको पो मन नलोभ्याउला र ?

हाइकिङ जाँदा ध्यान पु-याउनुपर्ने कुराहरुः

प्राथमिक उपचार सामाग्री (फस्र्ट एड किट), चक्कु, लाइट, डोरी, सलाई, सामान्य औषधि, खानेकुरा, पानी लगायत अत्यावश्यक सामाग्री आफै बोक्ने ।

सजिलो कपडा र जुत्ता लगाउनुपर्छ ।

जथाभावी फोहोर नफ्याल्ने । प्लास्टिक, खानेकुराका खोलहरु, बोक्रा आदिलाई उचित व्यवस्थापन गर्ने । फोहोर फ्याल्ने डस्टबिन राखिएको छैन भने एउटा झोलामा बोकेर ल्याउने र पछि फ्याल्ने ।

कुनै जनावर देखियो/भेटियो भने खानेकुरा नखुवाउने, नजिक गएर जिस्काउने काम गर्दै नगर्ने ।

आवश्यक पर्ने अनुमति पत्र अगाडि नै लिएर मात्र हिँड्ने

विदेशी मुद्रा र ठूल्ठूला नोटहरु नबोक्ने । अगाडि नै पैसा साटेर खुजुरा बोक्ने ।

घुम्न जाँदा सबैभन्दा बढी समस्या ल्याउने भनेको नै मौसमले हो । त्यसैले कहीँ जाँदै हुनुहुन्छ भने शुरुमै त्यस दिनको मौसमका बारेमा राम्ररी बुझ्नुहोस् ।

साथमा जहिल्यै पनि एउटा नक्शा बोक्ने । यो सुझाव जहाँ यात्रा गर्दा पनि काम लाग्छ ।

स्थानीयवासीसँग राम्रोसँग पेश हुने । उनीहरुको संस्कार, संस्कृति, परिकार, रहनसहनको सम्मान गर्ने

गाइड छनौट गर्दा ध्यान पु-याउने । जोकोहीलाई गाइडका रुपमा आफूसँग नलैजाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?