पुनर्कर्जाका लागि आवेदन खुल्यो, कसले पाउँछन् यस्तो कर्जा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन खुला गरेको छ । राष्ट्र बैंकले आज (शुक्रवार) एकमुस्ट रुपमा प्रदान गरिने पुनर्कर्जाका लागि आवेदन खुला गरेको हो ।

राष्ट्र बैंकल आज एक सूचना जारी गर्दै पुनर्कर्जाका लागि आवेदन खुला गरेको हो । राष्ट्र बैंकले आगामी माघ १६ सगतेसम्म आवेदन पेश गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आह्वान गरेको छ । राष्ट्र बैंकले राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ अनुसार पुनरकर्जाका लागि आह्वान गरेको हो ।

कोरोना भाइरस ‘कोभिड – १९’ का कारण उद्योग व्यवसाय,पर्यटन क्षेत्र लगायत विभिन्न क्षेत्र प्रभावित भएका छन् । राष्ट्र बैंकले कुन क्षेत्र कति प्रभावित भएको छ भनेर अध्ययन साथै कुन क्षेत्र कति प्रभावित भनेर वर्गिकरण समेत गरेको थियो । सोही अध्ययनका आधारमा क्षतिको पुनर्कर्जा प्राप्त गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यस्तो कर्जा लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जा प्रदान गरिनेछ ।

राष्ट्र बैंकले यसअघि नै “नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि,२०७७” लागू गरिसकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा ऋण उपलब्ध गराउने भएको हो । यस्तो कर्जा प्रति ग्राहक १५ लाखसम्म उद्यम पुनरकर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यस्तो कर्जाको ब्याजदर पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकेकोे छ । त्यसैगरी पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नुपर्ने, आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक र ऋणी समेटिएको हुनुपर्ने,आवेदन पेश गर्ने संस्थाको पूँजीकोष अनुपात राष्ट्र बैंकले तोके बमोजिम पुगेको हुनुपर्नेछ तथा इच्छुक ग्राहक ऋणीलाई आफुले सेवा लिइरहेको शाखामा पुनर्कर्जा माग गरी निवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै २० प्रतिशतभन्दा बढी नाफा गर्ने संस्था, पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अफ इक्युटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसाय र व्यक्तिगत ऋणीले उपयोग गर्न नपाउने व्यवस्था पुनर्कर्जा कार्यविधि, २०७७ मा व्यवस्था गरिएको छ ।

त्यसका साथै ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जामा उपभोग गर्ने ऋणीहरु पनि पुनर्कर्जा लागि अयोग्य हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको पछिल्लो व्यवस्था अनुसार हालसम्म ८१ अर्ब पुनर्कर्जा स्वीकृत भइसकेको छ । स्वीकृत भएको ८१ अर्ब पुनर्कर्जा मध्ये अधिकांश १५ लाख भन्दा साना कर्जा रहेको छ । हालसम्म ४१ हजार ऋणीलाई ८१ अर्ब पुनरकर्जा स्वीकृत भएकोमा ३३ हजार भन्दा बढी ऋणीको १५ लाख भन्दा सानो कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?