२०७७, १७ पुष शुक्रवार १४:२२

विकासका पूर्वाधार र मानव विकासलाई प्राथमिकतामा राखेका छौँ : अध्यक्ष सेन (अन्तर्वार्ता)


प्रकाशित मिति : २०७७, १७ पुष शुक्रवार १४:२२

सल्यान । जिल्लाका १० स्थानीय तहमध्ये तीव्र विकास र सही नेतृत्वदायी भूमिकाकै कारण कपुरकोट गाउँपालिकाका अध्यक्षमा नेकपाबाट निर्वाचित युवा नेता भीमबहादुर सेन गाउँपालिकामा मात्र नभएर अन्य स्थानीय तहमा समेत लोकप्रिय छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ कर्णाली प्रदेशका अध्यक्षसमेत रहेका उनले खासगरी कोरोना सङ्क्रमण नियन्त्रणका लागि उल्लेखनीय भूमिका खेलेका छन् । लगनशील, हँसिलो र सरल स्वभावका सेन जनउत्तरदायी शासन सञ्चालन तथा विपद् व्यवस्थापन, कोरोना सङ्क्रमण नियन्त्रण तथा समानुपातिक विकासमा सक्षम भूमिका खेलेकै कारण चर्चामा छन् । समसामयिक विषयमा केन्द्रित रहेर अध्यक्ष सेनसँग गरेको कुराकानीको अंशः

  • कपुरकोट गाउँपालिकामा अहिले केकस्ता क्रियाकलाप भइरहेका छन् र?

सेनः खास गरी आर्थिक वर्ष २०७७।०७८ को बजेट कार्यान्वयनका लागि सबै पक्षसंँग सहकार्य र समन्वयमा छु । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि कायमै छ । आवश्यक सुरक्षा सावधानी, सतर्कतासँगै समाजमा सचेतना फैलाउने कार्यलाई जारी राख्दै विकास निर्माणलाई कसरी अगाडि बढाउने, कसरी नागरिक केन्द्रित दिगो, भरपर्दो विकास गर्ने भन्ने विषयतिर नै म केन्द्रित छु ।

  • पछिल्लो पटक कोरोनाको सङ्क्रमण जिल्लामा व्यापक रह्यो तर पनि यहाँ आफ्नो गाउँपालिकामा पूरै नियन्त्रण गर्न सफल हुनुभएको छ, यो कसरी सम्भव भयो र ?

सेनः कपुरकोट गाउँपालिका कर्णाली प्रदेश प्रवेश गर्ने मुख्य नाका पनि हो । यस नाकाबाट भारतलगायत विभिन्न देशबाट फर्केका तथा देशका विभिन्न शहर बजारबाट मानिसहरु कर्णालीका विभिन्न जिल्ला भित्रने गर्छन् । यसर्थ कोरोनाको जोखिम पनि देखिने भइहाल्यो । यही कुरालाई ध्यानमा राखी हामीले कर्णाली प्रदेश सरकारसंँगको समन्वयमा गत चैत १ गतेदेखि नै कपुरकोटमा हेल्थ डेस्क स्थापना गरेर २४ सै घण्टा ज्वरो जाँच तथा आवश्यक परामर्श दिने कार्य गरेका छौँ । चैत १ देखि असार मसान्तसम्म ५३ हजार ६ सय ९८ पुरुष र १५ हजार ९९३ महिला गरी जम्मा ६९ हजार ६९१ जनाको स्क्रिनिङ गरियो ।

यसका साथै वडाध्यक्षहरुको संयोजकत्वमा सबै वडाहरुमा सतर्कता समिति गठन गरी कोरोना भाइरस सङ्क्रमणबाट बच्ने उपायका बारेमा व्यापक जनचेतनाका सन्देश विभिन्न सञ्चारमाध्यमबाट समेत घरघरमा पु¥याउने काम गरेका थियौँ भने ६ वटै वडाका गाउँ, टोलमा ३६ वटा निगरानी समूह गठन गरी विदेशबाट घर फर्किएकाहरुलाई घरपरिवार र छरछिमेकको सम्पर्कमा जानुभन्दा पहिला आवश्यक परामर्श गरी क्वारेन्टिन, सामुदायिक क्वारेन्टिन राख्ने, उहाँहरुको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाउने र पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने, गाउँटोलमा लकडाउनको पालना गर्न लगाउने काम त्यतिखेर अलि कडाइपूर्वक ग¥यौँ । गाउँपालिकास्तरीय तथा सामुदायिक क्वारेन्टिन, आइसोलेशनको व्यवस्था गरेर कोरोना नियन्त्रण, रोकथाम र प्रभावकारी उपचारका लागि विभिन्न कदम चाल्यौँ । नागरिक समाज, राजनीतिक दल सबैसंँग समन्वय, सहकार्यका आधारमा हामीले कोरोनाविरुद्धका अभियान सञ्चालन गर्‍यौं। अहिले पनि आवश्यक सचेतना र सावधानीका प्रयास गरिरहेका छौँ । यस भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा अहिले नागरिकलाई पनि थाहा भइसकेको महसुस हामीले गरेका छौँ तर पनि गाउँमा कोरोना पूर्ण नियन्त्रणमा नआए पनि अवस्था भने नियन्त्रणमा रहेको महसुस हामीले गरेका छौंँ ।

  • यहाँको गाउँपालिका जिल्ला प्रवेश गर्ने मुख्य नाका पनि हो, कोरना सङ्क्रमणका लागि यहाँहरुले जिल्लाका अन्य स्थानीय तहभन्दा बढी भूमिका खेल्नुपर्ने अवस्था आयो । यसलाई यहाँले कसरी व्यवस्थापन गर्नुभयो ?

सेनः कर्णाली प्रदेश प्रवेश गर्ने नाका भएका कारण हाम्रो जिम्मेवारी अन्य स्थानीय तहभन्दा अलि बढी नै रह्यो । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि शुरुदेखि नै हामीले सतर्कता अभियान सञ्चालन गरेका थियौँ । यसमा स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षा निकाय, प्रदेश सरकार र सबै सरोकार निकायको आवश्यक साथ र सहयोग प्राप्त भयो । यस नाकाबाट भित्रने यात्रु, अलपत्र परेका र वैदेशिक रोजगारीमा गएका गाउँपालिकाका नागरिकको व्यवस्थापन गर्न स्वयं मलगायत गाउँपालिकाका सबै जनप्रतिनिधि अहोरात्र खटिएर काम गर्‍यौं । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु नाकाको हेल्थ डेस्कमा २४सै घण्टा खटेर काम गर्नुभयो । नाकाबाट भित्रने सम्पूर्ण नागरिकको विवरण राख्ने, ज्वरो जाँच गर्ने र उचित परामर्श दिने काम गरियो ।

नाकामा अलपत्र परेका अन्य जिल्ला तथा गाउँनगरपालिकाका नागरिकलाई उद्धार, खानपान, सवारी साधनको व्यवस्था गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर सुुरक्षित तरिकाले पठाउने काम गरियो । कपुरकोट गाउँपालिकामा एक क्वारेन्टिन र २३ सामुदायिक क्वारेन्टिन तयार गरेर गाउँपालिकाका नागरिकलाई अलपत्र परेका स्थानबाट उद्धार गरी गाउँपालिका तथा वडास्तरिय क्वारेन्टिन तथा सामुदायिक क्वारेन्टिनसम्म पठाउने, क्वारेन्टिनमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाउने र पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने व्यवस्था गरियो । यसले गर्दा कोरोना भाइरस सङ्कमण समुदायस्तरमा फैलन पाएन ।

  • राससः तपाईँहरु नाकामा हुँदा यहाँका कर्मचारी रातदिन खटिनुभयो । कोरोनाबाट मानिसहरु डराइरहेका बेला सडकमा बसेर यहाँहरुले नियन्त्रणका प्रयास गर्नुभयो । त्यसमा काम गर्ने कर्मचारीको हौसला कसरी थप्नुभयो ?

सेनः यो रोग बढी सङ्क्रामक भएको र सारा विश्वलाई आक्रान्त पारेका अवस्थामा हामी नाकामा बसेर त्यहाँबाट भित्रने सबै नागरिकसँंग घुलमिल भई व्यवस्थापन गर्न सामान्य कुरा थिएन । नाकामा २४ सै घण्टा ड्युटी गर्ने अग्रमोर्चा सम्हालेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, लकडाउनको अवधिमा सडकमा बसेर व्यवस्थापनमा खटिने हामी जनप्रतिनिधि, स्वास्थ्य संयोजक, फोकल पर्सन र क्वारेन्टिन तथा आइसोलेशनमा खटिने कर्मचारीहरु बढी जोखिममा थियौंँ । त्यसबेला स्वयं जनप्रतिनिधिहरु पनि अहोरात्र खटिएर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीहरुका साथमा रहेर काम गर्नुभयो । हामी जनप्रतिनिधिसमेत काममा खटिनाले उहाँहरुमा थप आत्मबल बढेको र सङ्क्रमण भित्रन नदिन काम गर्ने ऊर्जा मिलेको अनुभूति गरेका छौं । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षाका सम्पूर्ण सामग्री-उपकरणको समयमै व्यवस्थापन गरिदिँंदा स्वास्थ्यकर्मीलाई अलि सहज रुपमा काम गर्ने वातावरण मिलेको छ ।
कोरोना भाइरसका बारेमा सबै जना डराइरहेको अवस्था थियो भने नागरिकमा पनि यसको त्रास थियो । यसका लागि हामीले सतर्कता समिति, निगरानी समूह, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, सङ्घसंस्था, विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक समूहमार्फत समुदायमा व्यापक जनचेतनाका कार्यक्रम लगेर घरदैलोसम्म सूचना तथा सन्देश दिने काम गर्‍यौं ।

  • यहाँहरुले गाउँपालिकामा आइसोलेशन पनि तयारी गर्नुभयो । अब त विद्यालय पनि खुलिसके, त्यसको व्यवस्थापन र नयाँ आइसोलेशन निर्माणमा यहाँहरुले के गरिरहनुभएको छ ?

सेनः प्रदेश सरकारको सहयोग र कपुरकोट गाउँपालिकाको व्यवस्थापनमा वडा नं ४ स्थित नेरामावि किमुचौरमा स्थापना गरिएको ५० बेडको आइसोलेशन हाल सोही स्थानमा यथावत् राखिएको छ । विद्यालयको पठनपाठनलाई ध्यानमा राखी अर्को स्थानमा स्थानान्तरण गर्ने योजनामा छौंँ । सङ्घीय सरकारको कार्यक्रमअनुसार धनवाङ स्वास्थ्यचौकीमा रहने गरी पाँच बेडका कोेभिड विशेष अस्पतालको व्यवस्थापन गरी कर्मचारीहरु पनि नियुक्त गरिसकेका छौँ ।

  •  यहाँले आफ्नो गाउँपालिकामा निर्वाचित हुनुभन्दा पहिले र आइसकेपछि यहाँले देखिने गरी गरेका कार्य केके छन् जसले गाउँपालिकामा तपाईँ आएपछि परिवर्तन भएको जनताले महसुस गरिरहेका छन् ?

सेनः हामी कपुरकोटलाई समृद्ध बनाउने दिशातिर अग्रसर छौँ । कपुरकोट गाउँपालिकाको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न हुने महसुस गरी हामीले सुविधासम्पन्न भवन निर्माण गरिसकेर पनि नयाँ भवनबाटै सेवा प्रवाह गरिरहेका छौँ । यस्तै यहाँका बस्तीमा खानेपानीको समस्या थियो । यो समस्यालाई टार्नका निमित्त विभिन्न वडाहरुमा लिफ्ट सिष्टमबाट खानेपानी योजना सम्पन्न गरेका छौँ । कतिपय यस वर्ष शुरु भइसकेका छन् । कृषि, पशु र पर्यटनलाई विकास गर्नका लागि विभिन्न शाखा कार्यालयबाट धेरै योजना कार्यान्वयनका चरणमा छन् ।

अब हाम्रो गाउँपालिकामा एकदुई बस्तीबाहेक सबैतिर सडक पुगिसकेको छ । गाउँपालिकाका मेरुदण्डका रुपमा रहेका मुख्य सडकहरु कपुरकोट गाडापानी हँुदै फालावाङ जोड्ने सडक, कपुरकोट खाली हुँदै दहवन जोड्ने सडक, कपुरकोट रीम हुँदै सिनवाङ जोड्ने कृषि सडकहरु निकै साँघुरा, जोखिमयुक्त र वर्षायाममा सञ्चालन हुनै नसक्ने अवस्थाका थिए । यी सडकलाई फराकिलो बनाउने कार्य हामीले मापदण्ड बनाएर गरेका छौँ । यसले तरकारी तथा फलफूल खेतीमा लागेका यहाँका किसानहरुलाई सहज तरिकाले उत्पादन गरिएको कृषिजन्य वस्तु बजारसम्म ल्याउन पक्कै पनि हित गरेको छ ।

साथै हरेक वडामा हामीले कृषि सडक, कृषि टहरा निर्माण गरेका छौँ । यसैगरी वर्षौँदेखि हाम्रो मुख्य बजार कर्णाली प्रदेशको प्रवेशद्वाराका रुपमा रहेको कपुरकोट बजारमा खानेपानीको चरम अभाव थियो । त्यो अभाव हटाउन हामीले लिफ्ट सिष्टमबाट खानेपानी योजना सञ्चालन गरेका छौँ । फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण गरेर ट्रयाक्टरबाट नियमित फोहोर उठाइरहेका छौँ ।
विद्यालयका समस्या समाधान, विद्यालय भवन निर्माण, कृषिलाई व्यवस्थित र आधुनिक बनाउन छुट्टै कृषि मोबाइल एप्स, विद्यालयमा महिनावारी हुने छात्राहरुको समस्यालाइ ख्याल गरेर निःशुल्क स्यानेटरी प्याड तथा प्राथमिक उपचारका सामग्री र औषधिसहित छुट्टै रेष्ट रुमको व्यवस्था हामीले गरिदिएका छौँ । यस्ता कार्यक्रम र योजना पक्कै पनि प्रभावकारी छन् जस्तो लाग्छ ।

  •  तपाईँको गाउँपालिका बेमौसमी तरकारी खेतीका लागि चर्चित ठाउँ पनि हो । यहाँले बेमौसमी तरकारी खेती प्रवद्र्धनका लागि उत्पादनदेखि बजारीकरणसम्मका लागि कस्तो योजना निर्माण गरेर लागु गर्नुभएको छ ?

सेनः हाम्रो गाउँपालिकाको मुख्य नारा ‘ कृषि, पर्यटन र पूर्वाधारः कपुरकोट गाउँपालिकाको विकासको आधार’ भन्ने छ । हाम्रो गाउँपालिका बेमौसमी तरकारी खेतीका लागि नेपालभरमै प्रख्यात क्षेत्र हो । यहाँका किसानले व्यावसायिक रुपमा खेती गरिरहनुभएको छ । त्यसैले कृषिको आधुनिकीकरण र नमूना प्लटहरु निर्माणतर्फ हामीले ध्यान दिइरहेका छौँ । कृषि सडक र कृषि टहरा निर्माण, कृषिमा यान्त्रीकीकरण, उन्नत बीउबिजन वितरण, विभिन्न प्राविधिक सेवा, खेती प्रविधिबारे तालीमलगायत क्रियाकलाप निरन्तर चलिरहेका छन् र यसले नतिजा पनि राम्रै दिइरहेको छ ।

  • पछिल्लो पटक यहाँको गाउँपालिकामा उत्पादन भएको तरकारीमा विषादीको प्रयोग अधिकतम भयो । यसलाई न्यूनीकरण गर्नतिर लाग्नुपर्छ भन्ने छ । गाउँपालिकाबाट यसका लागि यहाँले कस्तो पहल गर्नुभएको छ ?

सेनः अधिकतम विषादीको प्रयोग भएको स्वीकार्न मिल्दैन । यहाँ विषादी प्रयोगशाला नभए पनि हामीलाई प्राप्त जानकारीअनुसार विभिन्न शहरमा पुगेको कपुरकोटको तरकारी तथा फलफुल परीक्षण हुँदा एकदमै खानयोग्य छ । तथापि हामीले शुरुदेखि नै विषादीको न्यूनीकरण र अर्गानीक खेतीमा किसानलाई प्रेरित र सचेत गराइरहेका छौँ ।

विषादीले मानिस र हाम्रो वातावरणलाई पार्ने असरबारे हामीले पटक पटक अभिमुखीकरण गरेका छौँ । यहाँ कृषि उपज बजार सञ्चालक समिति, कृषक मूल समितिलगायत विभिन्न कृषक समूह छन् । उहाँहरु पनि गाउँपालिकासंँगको समन्वयमा कृषिलाई व्यावसायिक र आधुनिक ढङ्गले कसरी अगाडि बढाउन सकिन्छ, कसरी विषादी प्रयोग नगरेरै अर्गानिक तरिकाले खेती गर्न सकिन्छ र कसरी किसानलाई उत्पादनको उचित मूल्य प्रदान गर्न सकिन्छ भन्ने विषयमा लागिरहनुभएको छ । किसानहरु व्यवसायी बन्नुभएको छ र विषादी न्यूनीकरणसंँगै अर्गानिक खेतीतर्फ अग्रसर हुनुभएको छ ।

  • यहाँले कपुरकोट गाउँपालिकालाई चिनाउनका लागि करीब साढे तीन वर्षका अवधिमा केकस्ता गतिविधि गर्नुभयो । साथै गाउँपालिकाका महत्वका विषयलाई कसरी उठान र सम्बोधन गर्नुभएको छ ?

सेनः कपुरकोट गाउँपालिका आफैँमा एउटा छुट्टै पहिचान र महत्व बोकेको गाउँपालिका हो । सङ्घीयताको मर्मअनुसार पहिले स्थानीय तहको निर्वाचन भएपछि हामीहरू आएर सेवा दिनका लागि उपयुक्त कार्यालय थिएन । स्थानीय तहहरूसँग आवश्यक पर्ने कानून निर्माण गर्नुपर्ने भएका कारण पनि सोचेअनुरूप काम गर्न नसक्नु स्वाभाविक नै थियो । ती सबै समस्याका बाबजुद हामीले पालिकाका वडावडामा धेरै योजनाको डिपिआर बनाएर काम गरिरहेको र अन्य केही योजनाको डिपिआर बनिरहेको छन् । सबै वडामा मोटर बाटोको पहुँच पुगेको छ । युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि समूह, निजी फर्महरूलाई विभिन्न अनुदान दिई कृषि र पशुपालनलाई व्यावसायिक तवरमा काम गरिरहेका छौँ । खानेपानीको समस्या धेरै हदसम्म समाधान भएको छ । विद्यालयका समस्या समाधानमा काम गरेका छौँ ।

  •  कपुरकोट गाउँपालिकामा यहाँले देख्नुभएको मुख्य समस्या के हो र यसको समाधानका लागि गाउँपालिकामा कस्तो खालको रणनीतिक योजना बनाउनुभएको छ ?

सेनः सीमित साधनस्रोतले असीमित आवश्यकता पूर्ति गर्न कठिन हुन्छ । गरीबी, बेरोजगारी, वैदेशिक रोजगारी र अज्ञान हाम्रा लागि चुनौती हुन् । चुनावी प्रतिबद्धतालाई आत्मसात् गर्दै विस्तारै हामीले विकासको लय लिन थालेका छौँ । हामी जनताका घरआँगनमा गएर तिनका समस्या र आवश्यकतालाई आत्मसात् गर्दै विकासको काम अगाडि बढाउँदै आएका छौँ ।

विकास गर्दा अप्ठेरा स्थितिहरु त आउँछन् नै, तर पनि हालसम्मको अनुभवले ती कठिनाई पार गर्दै अघि बढ्न सफल भएका छौँ । नीतिगत ज्ञान, प्राविधिक समस्याले गर्दा जनअपेक्षाअनुसार विकासमा गति दिन नसकेको कुरा केही हदसम्म हामीले स्वीकार्नुपर्छ । आर्थिक स्रोत र नागरिकमा चेतनाको कमीलाई मैले प्रमुख चुनौतीका रुपमा ठानेको छु । मेरो कार्यकालभित्र देखिने र जनताले महसुस गर्ने गरी कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा आर्थिक विकास र समृद्धिका काम गर्ने गरी योजना निर्माण गरेर अगाडि बढ्ने प्रयत्नमा छु ।

  •  जनताका समस्या समाधान गर्न खोज्दा कस्ता खालका चुनौती सामना गर्नुभएको छ ?

सेनः चुनौतीहरु त आइहाल्छन् । हामी प्राथमिकताका आधारमा नागरिकको आवश्यकता पूरा गर्नेतर्फ अग्रसर भइरहेका छौँ । विकासे काममा ढिलो गरी सम्झौता गर्नु हुँदैन, असारे विकासलाई ताक्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ भन्ने उद्देश्यअनुसार काम अगाडि बढाएका छौँ । जनताको आवश्यकता के हो भन्ने पहिचान गरेर आवश्यकताका आधारमा योजना छनोट गरियो भने त्यसको अनुभूति पनि जनताले गर्न पाउँछन् भनेर हामीले त्यहीअनुरुप पूर्वाधार विकाससँगै नागरिकको सीप, क्षमता र चेतनास्तरमा वृद्धि गर्ने गरी काम गरिरहेका छौँ ।

  • पहिले गाविस हुँदा जनताले पाउने सेवासुविधा र अहिले गणतन्त्र स्थापना भई गाउँगाउँमा सिंहदरबारबाट प्रवाह हुने सेवामा कस्तो भिन्नता पाउनुभएको छ ?

सेनः गाउँमै अधिकार आएपछि गाउँका जनता जिल्ला, केन्द्रमा विकासका निम्ति धाउने समस्या हल भएका छन् । स्थानीय तहले पाएका अधिकार बढेका छन्, तिनै सेवा जनतालाई प्रदान गरिरहेका छौँ । जनताका आवश्यकता गाउँपालिकाको कार्यालयमा सीधै राख्न पाउनुहुन्छ । हरेक विकासको स्थलगत अनुगमन गरेर वास्तविक आवश्यकताको पहिचान गरी जनताका समस्या जनतासँगै बसेर हल गर्ने गरेका छौँ । कर्मचारीको समस्या पनि शुरुका वर्षमा देखापरेको थियो । अहिले विस्तारै सबै व्यवस्थापन भएको छ । सङ्घीयताको मर्मअनुसार जनताले जुन रुपले सुविधा पाउनुपर्ने हो, अझै नपाएको देखिन्छ । यसमा हामी लागिरहेका छौँ । जनप्रतिनिधिले जनतालाई चुस्तदुरुस्त र पारदर्शी सेवा जबसम्म दिँदैन तबसम्म जनताले गाउँमा सिंहदरबर आएको महसुस गर्दैनन् भनेर हामी सबै पक्षको सहकार्य, समन्वयमा महसुस हुने गरी विकास गर्ने प्रयासमा छौँ ।

  • गणतन्त्र स्थापनापछि गाउँपालिकावासीले आफूहरुको शासन छ भनेर महसुस गर्नका लागि गाउँपालिकाले मुख्य गरी कुनकुन क्षेत्रमा कार्य गरिरहेको छ ?

सेनः हामीले योजनाको पहिचान, योजना तर्जुमादेखि विकासको प्रतिफल वितरणसम्मका हरेक चरणमा समुदायको निर्णायक सहभागिता बनाउने कोशिश शुरुका वर्षदेखि नै गरिरहेका छौँ । यसले पनि हाम्रा नागरिकले विकासमा अपनत्वको महसुस गरिरहनुभएको छ होला । यहाँका विभिन्न सम्भावनालाई विकासमा बदल्न कृषि, पशु, पर्यटन, शिक्षा, पूर्वाधार, उद्यमशीलतालगायत मानव विकासका क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ ।

  • अहिले सरकार सञ्चालन गरिरहँदा आफैँले निर्माण गरेका नीतिनियम, पुरानो कर्मचारी संरचना, कागजी प्रक्रिया, बजेट अभाव जस्ता कुराले कहिलेकाहीँ समस्या ल्याउँछन कि ल्याउँदैनन् ?

सेनः केही केन्द्र तथा प्रदेशका नीति स्थानीय तह अनुकुल छैनन् । स्थानीय तहमा निर्माण गरेका नीति नियम नागरिकका बीचमा छलफल गरेर बनाइएका छन् । अझै स्थानीयस्तरको मनोभावना र सुहाउँदो नीतिका बारेमा छलफल गर्ने, परिमार्जन गर्ने गरिरहेका छौँ । पुराना कर्मचारीबाट त्यति समस्या भएको हामीले देखेका छैनौँ । तथापि नयाँ कर्मचारी पनि हामीसंँग हुनुहुन्छ । पुरानो अनुभव, नयाँ जोश सबैलाई समायोजन गरेर जनशक्ति परिचालन गरिरहेका छौँ । नागरिकका धेरै समस्या अझै पनि समाधान गर्नुपर्ने छन् । नागरिकको काम छिटोछरितो भइदिए हुन्थो भन्ने हाम्रो चाहना हो । सङ्घ तथा प्रदेश सरकारले स्थानीयस्तरको समस्या, भावना बुझेर, हामीसंँग प्रत्यक्ष जोडिएर काम गरून् भन्ने अपेक्षा छ ।

  • अब त तपाईहरुको पाँचवर्षे कार्यकाल पनि सकिँदैछ । यस अवधिमा यहाँहरु जनताका अगाडि गरेका वाचाअनुसार कतिको काम गर्न सफल हुनुभयो र अब गाउँपालिकाभित्र गर्नुपर्ने बाँकी काम केके छन् ?

सेनः हामीले नागरिकसामु गरेका प्रतिवद्धता क्रमिक रुपमा पूरा गरिरहेका छौँ । चौतर्फी विकासका आधार तयार गरेका छौँ । हामी जनताबाटै जनताकै लागि निर्वाचित भएका आएर हौँ । त्यसैले जनताको भावना र समस्यालाई समाधानको बाटो पहिल्याउनु हाम्रो कर्तव्य हो । निर्वाचित भएपछि पालिकाभित्रका समस्यालाई केन्द्रित गरेर विकास निर्माणका कार्य अगाडि बढाइरहेका छौँ ।

  • अन्तिममा यहाँले भन्न छुटाउनु भएको कुनै कुरा बाँकी छ कि ?

सेनः योजना प्रभावकारी बनाउन बजेटको सवाल आउँछ, बजेटको अभाव सबैभन्दा ठूलो समस्या हो । केन्द्र र प्रदेशले दिने अनुदानको दायरामा रहेर योजना बनाउनुपर्ने बाध्यता छ । मतदाताका अपेक्षा अनगन्ती छन् तर स्रोत थोरै छ । सोचेजति काम गर्न गाह्रो छ । सीमित स्रोसाधन र भौगोलिक विकटताले बस्तीबस्तीसम्म चाहेको जस्तो विकास पु¥याउन समस्या जरुर देखापरेका छन् । समग्र मतदाताले विश्वास गरेर नै मलाई यो स्थानसम्म ल्याइपु¥याउनुभएको हो । यसर्थ विकासमा उहाँहरुको सहयोग पूर्ण रुपमा मैले पाएको छु । म सम्भव भएसम्म सबै वडाका समुदायलाई भेट्ने कोशिस गर्छु, विभिन्न कार्यक्रम र अवसरमा । त्यसक्रममा उहाँहरुले आफ्ना गाउँठाउँका समस्या खुलेर राख्नुहुन्छ, केही दिनुपर्ने सुझाव दिनुहुन्छ । अझै केही सुझाव छन् भने, तपाईँहरुले समस्या ब्यहोर्नुपरेको छ भने खुलस्त रुपमा मसँग राख्न आग्रह गर्छु ।

प्रतिक्रिया दिनुहोस