पूरा भएन जोखिम वर्गका भूकम्पपीडितको सपना

RSS
0
Shares

तनहुँ । भूकम्प गएको पनि झण्डै पाँच वर्ष बित्न लाग्यो, तर जोखिम वर्गका भूकम्पपीडितको सपना भने अझै पूरा हुन सकेको छैन । विसं ०७२ वैशाख १२ गते दिउँसो गएको विनाशकारी भूकम्पले तनहुँका जोखिम वर्गका भूकम्पपीडितको नयाँ घर निर्माण हुन सकेको छैन ।

तनहुँमा ५४१ जना जोखिम वर्गका लाभग्राही रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँले जनाएको छ । विनाशकारी भूकम्पपछि घरविहीन अवस्थामा पुगेका ती लाभग्राहीको समस्या समाधानको लागि पहल कदमीसमेत हुन नसकेको कार्यालयका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिएका छन् । भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधिअनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई जोखिम वर्गका लाभग्राहीका रुपमा लिने गरिएको छ ।

छिमेकी जिल्ला गोरखा, लमजुङलगायतका जिल्लामा विभिन्न गैरसरकारी संस्थाको सहयोगमा यस्ता घर निर्माण गरिदिए पनि यस जिल्लामा त्यस्ता संस्था नहुँदा घर बन्न नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले बताए । सरकारको सूचीमा भूकम्पबाट अति प्रभावित जिल्लाका रुपमा तनहुँ जिल्ला नपरेकाले त्यस्ता लाभग्राहीलाई सहयोग गर्न गैरसरकारी संस्था आउन नसकेको उनले बताए । कतिपय लाभग्राहीसँग रकम भए पनि हेरचाह गरिदिने, पसलबाट किनेर ल्याइदिने जनशक्ति नहुँदा उनीहरुले नयाँ घर निर्माण सकिरहेका छैनन् । एकाइ प्रमुख गुप्ताले भने, “स्थानीय पालिकासँग समन्वय गरी उनीहरु घर बनाउन पहल कदमी भइरहेको छ ।”

प्राधिकरणले यस्ता जोखिम वर्गका लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि थप ५० हजार अनुदान दिने व्यवस्था गरेको छ । रकम नपुगेर आवास पुनर्निर्माण रोकिएका यस्ता लाभग्राहीलाई मात्र यो अनुदान रकम उपलब्ध गराइने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ । भूकम्पबाट तनहुँमा १५ हजार ९६३ लाभग्राहीमध्ये नौ हजार १०९ लाभग्राहीले तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् ।

छिम्केश्वरी मन्दिर मार्गमा कालोपत्र

आँबुखैरेनी र छिम्केश्वरी माई मन्दिर जाने छिम्केश्वरी पर्यटन मार्गको कालोपत्र शुरु गरिएको छ । आँबुखैरेनी गाउँपालिका–२ छिम्केश्वरी डाँडामास्थित छिम्केश्वरी माईको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कालोपत्र कार्य थालिएको हो ।

जिल्लाको अधिकतम उचाइ भएका पहाडमध्येको छिम्केश्वरी डाँडा समुद्री सतहबाट करीब दुई हजार १३४ मिटर उचाइमा रहेको छ । यस स्थानबाट विभिन्न हिमश्रृखला, रमणीय डाँडाकाँडा तथा समथर फाँटहरु देख्न सकिन्छ ।

जिल्लाको आँबु, भाँगे, छिम्केश्वरी, हिलेखर्क, बाहुन भञ्ज्याङ, छिम्केश्वरी सडक पर्यटक मार्गको नामले परिचित छ । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको छिम्केश्वरी पर्यटन मार्गमा कालोपत्र गरी आन्तरिक एवं बाह्य पर्यटकको केन्द्र बिन्दु बनाउन लागिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिएका छन् ।

यस सडकका लागि ३४ करोड ८० लाख विनियोजन गरिएको छ । शर्मा काष्ठमण्डप निर्माण सेवाले निर्माणको जिम्मा पाएको यो सडकको गत साउनदेखि काम गर्नुपर्ने भए पनि कोरोनाका कारण देखाउँदै दशैँअघिदेखि मात्रै काम शुरु गरिएको हो । करीब १० किलोमिटर दूरी आगामी असार मसान्तभित्र सम्पन्न गर्ने योजनासहित काम अघि बढाइएको छ । यस आवमा आठ करोड ४७ लाख बजेट छुट्याइएकामा साढे दुई करोड बराबरको निर्माण सम्पन्न भइसकेको छ ।

निर्माण कम्पनीले मेशिनले गर्नुपर्ने करीब तीन हजार घनमिटर काम सम्पन्न गरी सात किलोमिटर कालोपत्र गर्ने तयारी गरेको छ भने १६ किलोमिटर सडकको ट्रेन निर्माण अघि बढाइएको छ । प्रदेश सरकारको बजेटले आँबुखैरेनीदेखि लब्दीसम्मको १६ किलोमिटर मार्ग कालोपत्र गर्ने योजना छ । उक्त बजेटले नपुगेर बाँकी रहेको मार्ग भने आँबुखैरेनी गाउँपालिकाको पहलमा सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ । करिब चार किलोमिटर सडक मार्ग गाउँपालिकाको सहयोगमा निर्माण भइरहेको छ । फराकिलोमा तीन र साँघुरो स्थानमा दुई मिटर सिँढी र रेलिङ निर्माण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।

छिम्केश्वरी मन्दिरभन्दा केही तलसम्म सडकको व्यवस्था गरिएको जानकारी दिँदै उनले मन्दिरमा जाने भक्तजनले करीब ७०० मिटर बाटो हिँडेर जानुपर्ने व्यवस्था गरिएको छ । कोरोनाको अप्ठ्यारो अवस्थामा पनि विकासले गतिले लिएको बताउँदै उनले २०७८ माघ ६ गतेसम्म आयोजना सम्पन्न गर्नुपर्ने सम्झौता गरी निर्माण कार्य अघि बढाइएको जानकारी दिए । आँबुदेखि भागेसम्मको करीब साढे दुई किमी दूरीमा सालको रुख पर्ने भएकाले काम गर्न नसकिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । वातावरणीय प्रभाव पर्नसक्ने भन्दै डिभिजन वन कार्यालयले अवरोध गरेपछि उक्त क्षेत्रमा निर्माण कार्य रोकिए पनि अन्यत्र भने काम सञ्चालन भइरहेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयको पूर्वाधार विकास निर्देशनालयलाई परिपत्र गरी समस्याको निकासका लागि अनुरोध गरिएको छ । निर्देशनालयले वातावरणीय प्रभाव अनुसन्धानका लागि भाडामा कन्सल्टेन्सी लिएर प्रक्रिया अघि बढाइसकेको बताइएको छ ।

प्रदेश सरकारको त्रिवर्षीय योजनाअन्तर्गत सडक कालोपत्रको काम भइरहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओजराज ढुङ्गानाले जानकारी दिए। कन्स्ट्रक्सनका प्रोप्राइटर उमेश रिजालले उक्त बाटोमा कालोपत्र गर्ने कार्य समयमै पूरा हुने दाबी गरे । “केही भागमा कालोपत्र गर्ने कार्य भइसकेको छ हामी समयमै काम सम्पन्न गर्नेगरी लागि परेका छौँ”, उनले भने । छिम्केश्वरी पर्यटन मार्गको विकास क्रमसँगै यस पालिकाको पर्यटकीय क्षेत्रमा आमूल परिवर्तन हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?