राष्ट्रिय सभा अधिवेशन शुरु हुने दिन प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटघाट भएको छन् ।

संसद विघटनपछि नेकपाका नेताहरु एक अर्को कित्तामा छुट्टिएपनि गौतम भने आफूलाई तटस्थ भूमिकामा रहँदै आएका थिए ।

यसैक्रममा प्रचण्ड भेट्न गौतम शुक्रवार बिहान साढे नौ बजे खुमलटार पुगेका हुन् । प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले सामान्य भेटघाट भएको बताए ।

पुस ५ गते संसद विघटन भएसँगै ओली र प्रचण्ड(नेपाल समूहमा नेताहरु विभाजन भइरहेका छन् । तर गौतम भने कुनै पनि कित्तामा देखिएका थिएनन् ।

प्रतिनिधि सभामा पराजित गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरिएको थियो । तर संसदको निर्वाचन हारेको मान्छे राष्ट्रिय सभामा जान नपाउने भन्दै सर्वोच्चमा मुद्धा परेको थियो । सर्वोच्चले उनलाई कामकारबाही गर्न नरोक्नु भन्ने आदेश दिएको थियो ।

आज राष्ट्रिय सभाको हिँउदे अधिवेशन शुरु हुँदैछ । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले प्रचण्ड भेट्न खुमलटार पुगेको हुन् ।

यसअघि पूर्व माओवादी समूहका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल केही समय तटस्थ देखिएका थिए । तर बादल भने ओली समूहमा लागेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रचण्ड नेपाल समूहले त्यसको विरोध साथै आन्दोलन गरिरहेको छ । आजको राष्ट्रिय सभा बैठकमा समेत त्यसको विरोध हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?