सचित्र बाल पुस्तकका लागि ‘दृष्टान्त कला’

RSS
0
Shares

काठमाडौं । सचित्र बाल पुस्तकका लागि काठमाडौंमा दृष्टान्त कला कार्यशाला हुने भएको छ । आगामी माघ महिनाको दोस्रो हप्तामा शुरु हुने उक्त कार्यशालाको तयारी शुरु गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिएका छन् । कार्यशाला सम्पन्न गर्न कर्माचार्यको संयोजकत्वमा चित्रकार रमेशनाथ खनाल, अशोकमान सिंह, कृष्णगोपाल श्रेष्ठ, रामबाबु सुवेदी, विजयराज आचार्य र सुरेन्द्र गौतम सदस्य रहेको एक समिति गठन गरिएको छ ।

माध्यामिक विद्यालयका विद्यार्थी तथा पाठकका लागि लक्षित कार्यशालाले पुस्तकका लागि मौमिक, सुन्दर नमूना चित्र तयार पार्नेछ । कार्यशालाले नेपालका चर्चित दृष्टान्त चित्रकार, बाल साहित्यकारबीचको सम्बन्ध बलियो बनाउने र सीपको आदानप्रदान विश्वास गरिएको छ ।

विश्व ललितकलाको क्षेत्रमा ग्राफिक्स कम्युनिकेशनको विधाको व्यापकता बढ्दै गइरहेको अवस्थामा दृष्टान्त कलाको औचित्य बढ्दो छ । सञ्चारका थुप्रै माध्यामको क्षेत्रमा ठूलो भूमिका रहने यस विधाले समयसापेक्ष खासै विकास हुन सकिरहेको छैन । त्यसैले यस विधालाई उत्कृष्ट र चुस्त बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी माघ ११ देखि १६ गतेसम्म दृष्टान्त कला कार्यशाला गर्न लागेको हो । सचित्र बाल पुस्तकको निर्माणका लागि दृष्टान्त कला अतिआवश्यक हुने प्रतिष्ठानका कुलपति कर्माचार्य बताउछन् ।

कार्यशालामा नेपालका १० बाल साहित्यकारको सहभागिता रहने छ । उक्त कार्यशालाको विज्ञका रुपमा अशोकमान सिंह र रामबाबु सुवेदीलाई आमन्त्रण गरिएको छ । सोही क्रममा सुवेदी र आचार्यद्वारा लिखित बालकथामा आधारित कला कार्यशाला हुनेछ । कार्यशालामा तयार पारिएका चित्रमध्ये दुई उत्कृष्ट चित्रबाट बालपुस्तक तयार हुने प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?