पर्यटकीयस्थल उपर्दाङ्गगढी पुग्न नयाँ सडक

RSS
0
Shares

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–७ मा रहेको ऐतिहासिक पर्यटकीयस्थल उपरदाङ्गगढी जानका लागि नयाँ सडक खुलेको छ । उक्त नयाँ सडक खुलेसँगै अब नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित भोर्लेबाट पनि उपरदाङ्गगढी जान सकिने भएको छ ।

भोर्लेबाट चौकीडाडाँ, दाहाखानी, सानो भोर्ले, कापे हुँदै उपरदाङ्गगढी पुग्न सकिने उक्त सडकको नयाँ ट्र्याक जोडिएको हो । उक्त नयाँ सडकको बिहीबार एक कार्यक्रमका बीच इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले उद्घाटन गरे ।

अध्यक्ष गुरुङले आफ्नो गाउँपालिका भौगोलिक हिसाबले निकै कठिन भए पनि गाउँपालिकाभित्रका सबैजसो गाउँ सडक सञ्जालले जोड्न सफल भएको बताए । उनले ऐतिहासिक पर्यटकीयस्थलको रूपमा परिचित चितवनको पुरानो सदरमुकाम उपरदाङ्गगढी आउनकै लागि अब टाँडी हुँदै शक्तिखोरबाट मात्र आउनुपर्ने बाध्यता हटेको बताए । यस्तै नयाँ ट्र्याक खुलेपछि स्थानीयवासीको दैनिक जीवनयापनमा हुने कठिनाइलाई पनि सजिलो बनाउँदै लैजाने उनले बताए ।

वडाध्यक्ष बमबहादुर रानाले वडा नं ७ मा सडक सञ्जालले छुन बाँकी कुनै पनि गाउँ नरहेको बताए । उनले भने, “वडामा सडक सञ्जालले छुन बाँकी कुनै पनि गाउँ छैनन्, यसैले अब सडक स्तरोन्नति र कालोपत्र गर्नतिर ध्यान लगाउनेछौँ ।” यतिमात्र नभई खानेपानी र विद्युतीकरण गर्न बाँकी रहेका गाउँमा सडक सञ्जालले छोएसँगै उक्त कामका लागि समेत ध्यान दिइने उनले बताए ।

भोर्लेबाट दाहाखानी हुँदै उपरदाङ्गगढीसम्म करिब ३६ किलोमिटर दूरी रहेको उक्त सडकको इच्छाकामना गाउँपालिका खण्डकमा पर्ने दाहाखानीबाट उपरदाङ्गगढीसम्म करिब १२ किलोमिटर सडक गाउँपालिका र वाग्मती प्रदेश सरकारको एक करोड करोड २५ लाखको लागतमा निर्माण गरिएको हो । जसमा इच्छाकामना गाउँपालिकाले तीन आर्थिक वर्षमा ७३ लाख वाग्मती प्रदेश सरकारले ३८ लाख बजेट लगानी गरेको दाहाखानी उपरदाङ्गगढी मोटरमार्ग निर्माण उपभोक्ता समितिका सचिव विर्ष गुरुङले जानकारी दिए । उक्त सडकले सालठाना, सानो भोर्ले, कापेलगायत स्थानीयवासीलाई सहज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?