अङ्ग्रेजी नयाँ वर्ष शुरु: किन गर्नुपर्छ संकल्प ?

आजदेखि अङ्ग्रेजी नयाँ वर्ष शुरु भएको छ । हरेक वर्ष नयाँ वर्षको शुरुवातमा सबैमा एउटा छुट्टै उत्साह हुन्थ्यो । नयाँ वर्षले थप जोसजाँगर, उमंग थपिदिन्थ्यो ।
यसपालिको नयाँ वर्ष भने आशा बोकेर आएको छ । सन् २०२० मा जति पनि विपत्तिसँग जुध्नुप¥यो त्यसबाट माथि उठ्ने आशा, कोरोना भाइरसको महामारीबाट आक्रान्त विश्वको घाउमा मल्हम लाग्ने आशा, आफ्नो भोगाइबाट नयाँ पाठ सिक्ने आशा । त्यसैले पनि यो नयाँ वर्ष केही खास छ ।

हरेक वर्ष चाड जस्तै गरेर विश्वव्यापी रुपमा उत्सव मनाइने नयाँ वर्ष पहिलो पटक कहिले मनाइएको थियो होला ? नयाँ वर्षमा संकल्प गर्ने चलन कसरी र किन शुरु भयो ? यी क्रियाकलापहरु जति रमाइला छन् यसको इतिहास उति नै व्यापक र रोचक ।
नयाँ वर्षको इतिहास निकै लामो छ । वास्तवमा आजभन्दा ४ हजार वर्षअघि पहिलो पटक नयाँ वर्ष मनाइएको थियो भन्ने विश्वास छ । २००० वि सी मा प्राचीन बेबिलन शहरबाट यो चलन शुरु भएको थियो ।

मार्च महिनातिरको समयमा बेबिलनवासीहरु पहिलो ‘न्यू मून’ देखिएको अवसरमा ११ दिनसम्म ‘अकितु’ नामक चाड मनाउँथे । हरेक दिन भिन्नभिन्न रीतिरिवाजको पालना गर्दै उनीहरु ११ दिनलाई भव्य तरिकाले मनाउँथे ।
यस अवधिमा उनीहरु आकाशका देवता मार्दुकको समुद्रकी देवी तियामत माथिको विजयलाई मनाउने गर्थे । यहीवेला उनीहरु आफ्ना लागि नयाँ राजा चुन्ने वा भएका राजालाई नै अर्को कार्यकाल सञ्चालन गर्न दिने भन्ने कुराको निधो पनि गर्दथे ।

नयाँ वर्ष किन जनवरीमा मनाइन्छ ?
अहिले हामीलाई नयाँ वर्षको दिन जनवरी १ हो भन्ने कुरा कण्ठस्त भएतापनि पहिला जनवरीमा नयाँ वर्ष मनाइँदैनथ्यो ।
समयको विभिन्न कालखण्डमा भिन्नभिन्न सभ्यताहरुले नयाँ वर्षलाई भिन्नभिन्न खगोलशास्त्रीय वा कृषिसँग सम्बन्धित महत्वपूर्ण अवसरमा मनाएको देखिन्छ ।

४६ विसीसम्म रोम साम्राज्यमा मार्चमा नयाँ वर्ष मनाइन्थ्यो । त्यसताका रोमन क्यालेन्डरमा ३०४ दिन अर्थात् १० महिनाको १ वर्ष हुने गर्दथ्यो ।
तत्कालीन रोमन सम्राट जुलियस सिजरले खगोलशास्त्री तथा गणितविज्ञहरुसँग छलफल गरेर जुलियन क्यालेन्डर निर्माण गरे । जसमा जनवरी १ लाई नयाँ वर्षका रुपमा राखियो । ‘जनवरी’ नाम खासमा रोमन देवता, जेनसको नामबाट राखिएको थियो । जेनसले विगत र भविष्य देख्न सक्छन् भन्ने मान्यता थियो ।
त्यसपछि रोम राज्यका जनताहरुले यस दिन भगवान जेनसलाई बली दिने मात्र होइन उपहार साटेर, घर, आँगन सजाएर, एकअर्कासँग भेटेर, भोजभतेर गरेर मनाउन थाले ।

नयाँ संकल्प गर्ने चलन कसरी शुरु भयो ?
नयाँ वर्ष भन्नासाथ नयाँ उमंग, चुनौती र अवसरहरुको ढोका । आफूमा कुनै नराम्रो बानी छ भने त्यसलाई परिवर्तन गर्ने उचित समय र आफूले आँटेताकेको काम पूरा गर्न पहिलो कदम चाल्ने शुभ अवसरका रुपमा लिइन्छ नयाँ वर्षलाई ।
यस दिन नयाँ संकल्प गर्ने र वर्षभरि त्यसको पालना गर्नुपर्छ भन्ने मान्यता छ । यद्यपि, धेरैले त्यो संकल्प वर्षभरि आत्मसाथ गरेका भने हुँदैनन् । जे होस् यो संकल्प गर्ने संस्कृति कसरी शुरु भयो होला ?

यसको उत्तर हो, प्राचीन बेबिलोन शहर । बेबिलोनवासीहरुले भगवानको मन जित्नका लागि अनेक संकल्प गर्ने गरेको इतिहासले बताउँछ । नयाँ वर्षको शुरुवात सही तरिकाले गर्नका निमित्त उनीहरु भगवानसामू आफ्नो ऋण तिर्ने, सापटी लिएको कृषि उपकरण फिर्ता गर्ने संकल्प गर्दथे ।

नयाँ वर्षको इभमा किन झारिन्छ १२ हजार पाउन्डको बल ?
नयाँ वर्षमा पालना गरिने एउटा महत्वपूर्ण चलन हो, न्यू योर्क शहरको टाइम्स स्क्वायरमा बल झार्ने । यो चलन सन् १९०७ देखि निरन्तर पालना गरिँदै आएको छ । त्यसरी झारिएको पहिलो बल ७०० पाउन्ड तौल भएको फलाम र काठबाट निर्मित थियो जसलाई १ सयवटा लाइट बल्बले ढाकिएको थियो ।

प्राचीन कालमा यात्रीहरुले स्थानीय समयअनुसार आफ्नो घडीको समय मिलाउन सकुन् भनेर हरेक दिन दिउँसो चोकमा ‘टाइम बल’ झारिन्थ्यो । त्यहाँदेखि नयाँ वर्षमा यो चलन रहेको हो ।
त्यो समयदेखि अहिलेसम्म परिमार्जित हुँदै आउँदा ७ प्रकारका बलहरु झारिएका छन् । अहिले भने १२ हजार पाउन्ड बराबरको बल झारिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?