ऐतिहासिक मल्लाज कोत मन्दिरको पुन : निर्माण

बाबियाचौर, म्याग्दी, १६ असोज ।जलजला गाउँपालिका–३ मा रहेको ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण भएको छ ।बाइसेचौबिसे राज्यका पालामा निर्मित मल्लाज कोत भगवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीय बासिन्दाबाट आर्थिक स्रोत जुटाएर मन्दिरको पुनः निर्माणका साथै थप पूर्वाधार निर्माण भएको हो ।मन्दिरको पुनः निर्माण, पूर्वाधार विकास, व्यवस्थापन र संरक्षणका लागि तयार पारिएको गुरुयोजनाअनुसार पछिल्लो दुई वर्षयता रु एक करोड १० लाख लगानीमा विभिन्न पूर्वाधार निर्माण गरिएको मल्लाज कोत निर्माण समितिका अध्यक्ष टेकबहादुर जिसीले बताए ।विसं २०७२ मंसिर २५ देखि पुुुस ५ गतेसम्म सञ्चालित श्रीमद्भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञमार्फत संकलित रकमबाट मन्दिरको पुनः निर्माण, पूजास्थल निर्माण, भवन निर्माण र कोत परिसरको खेलमैदान विस्तार गरी प्याराफिट निर्माण कार्य सम्पन्न भएको छ । अहिले कोत मन्दिर परिसरमा सचिवालय र व्यावसायिक प्रयोजनका लागि भवन र प्रवेशद्वार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिब ५०० वर्ष पुरानो कोत मन्दिर बाइसेचौबिसे राज्यका पालामा तत्कालीन मल्लाज राज्यका राजाले पूजाआजाका लागि निर्माण गरेका थिए ।कोत मन्दिरको जीर्णोद्धार गरी नयाँ संरचना निर्माण भएपछि पूजा व्यवस्थापनमा सहज हुनाका साथै मन्दिरको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग मिलेको कोत मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर जिसीले बताए । हरेक वर्षको रामनवमी र बडा दशैँको समयमा पूजाआजा हुने उक्त कोत मन्दिरको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । कोतमन्दिर प्रतिको धार्मिक विश्वास, ऐतिहासिकस्थल, मल्लाज दरबार र म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिक हुनु, पदमार्ग र सडकको सुविधा भएकाले यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।कोत मन्दिर नजिकै रहेको ऐतिहासिक मल्लकालीन दरबारको पुनः निर्माण भइसकेको छ । उक्त स्थानबाट धौलागिरि हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ । कोत मन्दिरमा भक्तजन तथा पर्यटक भित्र्याउनका लागि म्याग्दी बेनीको कालीपुलदेखि डिलफाँटसम्म निर्माण भएको पक्की सिँढी सहितको पदमार्गलाई कोतसम्म नै विस्तार गर्नुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?