काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले १५ जना प्रदेश सभा सदस्यहरुलाई निलम्बन गरेका छन् ।
मुख्यमन्त्री राईले पार्टीको नियम विपरित काम गरेको भन्दै प्रचण्ड-नेपाल समूहका १५ जना सदस्यहरुलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।
उनीहरुलाई निलम्बन गरिएको बोधार्थ पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।
संसदीय दलको सदस्य भएको अवस्थामा दलका नेतालाई नसोधी र कुनै जानकारी नगराई प्रदेशसभा समक्ष अविश्वासको प्रस्तावमा सही गरेको र अनुशासनको पालना नगरेकाले सोधिएको स्पष्टिकरणको जवाफसमेत नदिएकाले अगामी तीन महिनासम्म दलको कुनैपनि क्रियाकलापमा भाग लिनबाट वञ्चित गरिएको निलम्बन पत्रमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने मध्ये १९ जनालाई प्रदेश प्रमुख सचेतक बृद्धि कुमार राजभण्डारीले सोमवार २४ घण्टे स्पष्टिकरण सोधेका थिए । तर उनीहरुले जवाफ नदिएको कारण पार्टीले कारबाही गरेको बताइएको छ ।
त्यस्तै सत्तारुढ नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल (प्रचण्ड(नेपाल) समूहले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएको छ ।
उनीहरुले बिहीवार मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएको पत्र संसद सचिवायलमा पठाएका छन् ।
त्यस्तै दलको बहुमत सदस्यहरुको निर्णयले नेकपाको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य भीम आचार्यलाई निर्वाचित गरिएको पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया