चित्र र शब्दको नौलो प्रयोग गरिएको ‘हाम्रा कवि र साहित्यकार’ प्रकाशित

काठमाडौं । वी रिडबाट चित्रकार सुरेश कुमार द्यःलाले बनाएका विभिन्न साहित्यकार र कविका मुहारचित्रमा कवि मञ्जुलले लेखेका कविताहरु समेटिएको ‘हाम्रा कवि र साहित्यकार’ नामक चित्रकविता सङ्ग्रह प्रकाशित भएको छ । यस संग्रहमा भानुभक्तदेखि सरुभक्तसम्मका मुहारचित्र र ती मुहारचित्रले बोल्ने कविताहरु छन् ।

साहित्यकारहरुका सिर्जनामा पाइने भाव र उनीहरुका मुखाकृतिमा देखिने भावअन्तर सम्बन्धित हुन्छन् भन्ने चित्रकार सुरेश कुमारलाई लाग्छ । त्यसै अनुरुप उनले कवि र साहित्यकारका मुहारचित्र चारकोलले बनाएका थिए । ती मुहारचित्र हेरेर कवि मञ्जुलले ती मुहारचित्रमाथि कविता नै लेखे । तिनै चित्र र कविताहरु यस पुस्तकमा हेर्न र पढ्न पाइन्छ । संग्रहमा भानुभक्त आचार्यदेखि सरुभक्त र स्वयम् कवि मञ्जुल लगायत ५५ कवि तथा साहित्यकारहरु समेटिएका छन् ।

पुस्तकको एकातिर उदास आखाँभित्र विद्रोह बोकेकी पारिजातको विशिष्ट मुहारचित्र हेर्दै अर्कोपट्टि यही मुहारचित्रमा आधारित ‘माथि शैलुङमा’ कविता पढ्दा पाठकहरुलाई कला सम्मिश्रणको नौलो अनुभव जस्तो लाग्ने बताइएको छ । यसरी बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोमा, छिन्नलता, भूपि शेरचन, पारिजात, शंकर लामिछाने, खगेन्द्र संग्रौलाहरुलाई हेर्दै पढ्दै गरिरहँदाको अनुभूति सिनेमा जस्तो लाग्छ ।

पुस्तकमा चित्र र शब्दको प्रयोग गरेर कलाको रोचक प्रयोग गरिएको छ । ‘हाम्रा कवि र साहित्यकार’ कवि र चित्रकारको संगमले नयाँ आयाम ल्याउन सक्दोरहेछ भन्ने उदाहरण दिने पुस्तक बनेको बताइएको छ ।

यस सङ्ग्रहका चित्रकार सुरेश कुमारले देश विदेशमा थुप्रै कला प्रदर्शनी गरी ‘क्यान कला पुरस्कार’(२०७४), ‘भानुभक्त मुहारचित्र प्रतियोगिता’(२०४५(प्रथम) लगायतका विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । त्यस्तै प्रसिद्ध उपन्यास छेकुडोल्माका लेखक स्थापित कवि मञ्जुलले पनि ‘शिक्षा पुरस्कार’(सन् १९९६), ‘साझा पुरस्कार’(२०५५) लगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।

नेपाली साहित्यका उहिलेदेखि अहिलेसम्मका कवि र साहित्यकारसँग परिचय गराउने यस किताबको मुल्य २७५ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?