मेलमिलाप नीतिकै कारण माओवादी शान्तिपूर्ण राजनीतिमा आयो : सभापति देउवा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०३३ सालमा वीपी कोइरालाले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।

वीपी कोइरालाले ०३३ सालमा राट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक छ । मेलमिलाप नीतिको मुल चुरो हिजो पनि जनता थियो, जनताको अधिकार र लोकतन्त्र थियो, आज पनि त्यहि नै हाम्रो साझा र मुल बाटो हो ।” कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने ।

त्यस्तै वीपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राखेको समेत सभापति देउवाले बताए । साथै जनताको लोकतान्त्रिक हक अधिकार शान्तिपूर्ण ढंगले जनतालाई दिलाउन वीपीले लिएको नीतिकै जगमा ४६ सालको राजनीतिक परिर्वतन भएको बताए ।

“त्यस्तै वीपीले लिएको उक्त नीतिकै कारण सशस्त्र द्वन्द गरिरहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सहयोग पुगेको देउवाले बताए । वीपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिँडेका माओवादीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु भएको थियो ।” उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै देशभर आन्दोलन गरेको स्मरण गराउँदै जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?