राम्रो पर्फमेन्स गर्न नसकेपछि विग मर्जरमा एनसीसी बैंक, नबिलसँग मर्ज हुने चर्चा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले विग मर्जरमा जाने तयारी गरेको छ ।

बैंकले माघ ९ गते डाकेको वार्षिक साधारणसभामा बैंक मर्जरमा जाने प्रस्ताव पनि लैजाँदैछ । एनसीसी नबिल बैंकसँग मर्जरमा जाने विषयमा छलफल भइरहेको चर्चा बजारमा चलिरहेको छ । त्यसो त एनसीसी बैंकले बजारमा राम्रो पर्फमेन्स पनि देखाउन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले मर्जर प्रक्रियालाई तिव्र बनाउँदै बजारमा राम्रो पर्फमेन्स गर्न नसकेका वाणिज्य बैंकहरुलाई मर्जरमा लैजाने योजना बनाइरहेको छ ।

गत वर्षको मौद्रिक नीति आउने बेलामा तत्कालिन गभर्नर डा. चिरन्जीवी नेपालले पनि बैंकलाई विग मर्जरका लागि तयारी गर्न निर्देशन दिएका थिए । मर्जर गर्दा निक्षेप संकलन, कर्जा लगानी, नाफा, आम्दानी लगायतमा राम्रो प्रगति गर्न नसकेका बैंकहरुलाई मर्जरमा लैजाने राष्ट्र बैंकको योजना छ ।

बजारमा राम्रो प्रगति गर्न नसकेका बैंकहरु, प्राइम, सेञ्चुरी, एनसीसी, नेपाल बंगलादेश, सिभिल, मेगा लगायतका बैंकलाई मर्जरमा जान राष्ट्र बैंककै दबाव छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ मा मौद्रिक नीति मार्फत् ल्याएको बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धि योजना अनुसार एनसीसी बैंकले तोकेको समयमा चुँक्ता पूँजी पुर्‍याउन सकेको थिएन । सञ्चालनमा रहेका कुल २७ वाणिज्य बैंकमध्ये सबैभन्दा खराब प्रदर्शन एसीसी बैंकको रहेको राष्ट्र बैंक स्रोतको भनाई छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ मा दुई वर्षभित्र २ अर्ब रुपैँयाको चुँक्ता पूँजी वृद्धि गरी ८ अर्ब रुपैँया पुर्‍याउनु पर्ने व्यवस्था गरेको थियो । तर एनसीसी बैंकले केही वर्ष अघिसम्म पनि सो पूँजी पुर्‍याउन सकेको थिएन ।

राष्ट्र बैंकले तोकेको समयमा पूँजी नपुर्‍याउने बैंकलाई कारवाही गर्ने भने पनि कारबाही भने गरेन । एनसीसी बैंक बाहेक अन्य बैंकले पूँजी पुर्‍याएको तथा एनसीसीले पुर्‍याउने आश्वाशन दिएकाले पनि एनसीसी कारबाहीबाट बचेको थियो ।
पछिल्लो समय बैंकिङ बजारमा चर्को प्रतिस्पर्धा चलेको छ । त्यसका साथै नेपालमा विदेशी बैंक पनि आउने चर्चा छ ।

विदेशी बैंकसँग प्रतिस्पर्धा गर्न र ठूला ठूला योजना तथा परियोजनाहरुमा लगानी गर्न ठूलो लगानीका बैंकको आश्यकता पर्ने भएकाले पनि राष्ट्र बैंकले पूँजीगत रुपमा बैंकलाई ठूला र बलिया बनाउन चाहन्छ । त्यसैकारण बजारमा टिक्न नसक्ने बैंकलाई मर्जरमा लैजान राष्ट्र बैंकले पहल शुरु गरेको थियो ।

एनसीसीले बजारमा राम्रो प्रदर्शन गर्न नसकेकै कारण पनि राष्ट्र बैंकले एनसीसीलाई मर्जरमा जान दबाव दिइरहेको छ । नम्बर वानको ताज पहिरिएको नबिल बैंकले आफूमा तत्काल कुनै पनि वित्तिय संस्था मर्जर गर्न इच्छुक नरहेको बताइरहे पनि ग्लोबल आइएमई र जनता मर्जर भएपछि नम्बर वान बन्ने होडमा नबिलले पनि मर्जरमा जाने चासो देखाइरहेको छ । के होला त नबिल र एनसीसीको मर्जर रु त्यो भने हेर्न बाँकी नै छ ।

मर्जर प्रक्रिया लामो हुने तथा शेयर,कर्मचारी व्यवस्थापन लगायत धेरै विषयलाई मिलाउनुपर्ने भएकाले प्रारम्भीक छलफल चलिरहेको बजारमा चर्चा छ । नबिलले ३० रुपैयाँ तथा एनसीसीले ४० रुपैयाँ मागिरहेको चर्चाले अहिले सेयर बजार तातेको छ । मर्जरकै हल्लाका कारण एनसीसीको शेयर मूल्य पनि बढिरहेको छ ।

एनसीसी बैंकमा संस्थापकतर्फ सबैभन्दा बढी शेयर नेपाल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको ३.६९ प्रतिशत रहेको छ । साङ्ग्रिला इन्भेष्टमेन्ट प्रालिको ३.२५ तथा एनबी ग्रुप नेपाल प्रालिको ३.१५ प्रतिशत शेयर छ रहेको छ । त्यस्तै, सर्वसाधारणको शेयर ४९ प्रतिशत रहेको छ ।

एनसीसीले साधारणसभामा १०.२६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव लाने भएको छ । यसबाट ९६ करोड ५ लाख रुपैयाँ बराबर चुक्ता पूँजी बढ्ने भएको छ । बैंकले कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको हो । बोनस शेयरपछि हाल बैंकको चुँक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?