७५ खानेपानी योजना निर्माण चरणमा

RSS
0
Shares

काठमाडौं । विकासको निर्माणले गति लिँदै गरेका पहाडी जिल्ला लमजुङमा ७५ वटा खानेपानी योजना निर्माणधीन अवस्थामा रहेका छन् । खानेपानी तथा सरसरफाइ डिभिजन कार्यालय गोरखा, इकाई कार्यालय लमजुङमार्फत यस चालू आर्थिक वर्षमा ती सङ्ख्यामा खोनपानीका योजना निर्माणधीन रहेका हुन् । ती योजनाका लागि सङ्घ र प्रदेश सरकारबाट १६ करोड आएको कार्यालय प्रमुख इन्जिनीयर शम्भुराज खनालले जानकारी दिएका छन् ।

उनका अनुसार सङ्घ सरकारबाट ५० वटा योजनाका लागि ११ करोड ६० लाख , प्रदेश सरकारको सशर्त अनुदानमा २५ वटा योजनाका लागि चार करोड ४६ लाख बजेट विनियोजन भएको छ । यी दुबै सरकारबाट प्राप्त योजना सम्झौता भएर निर्माणधीन चरणमा रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले यसै आर्थिक वर्षभित्र ठूला दुई वटा योजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । ५६ लाख बजेटमा निर्माणाधीन अवस्थामा रहेको भारते खानेपानी आयोजना र ३३ लाख बजेटमा निर्माणाधीन अवस्थामा रहेको बाङ्ग्रे लिफ्ट खानेपानी आयोजना गरी दुई ठूला योजना सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताएका छन् ।

त्यस्तै सङ्घ सरकारबाट बजेट थप भई आएमा यस वर्ष सङ्घ सरकारको २५ वटा योजना र प्रदेश सरकारबाट बजेट थप भईआएमा यसवर्ष प्रदेश सरकारको १२ वटा योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२-७३ देखिको केही आयोजना बजेट अभावका कारण क्रमागतमा रहेको कार्यालयले जनाएको छ ।

आगामी चैत महिनासम्म बजेट थप भई आएमा लक्ष्य पूरा गर्न सकिने प्रमुख खनालले बताएका छन् । खाइपाइ आएका पुराना योजनालाई मर्मत, स्तरोन्नति र क्षमता अभिवृद्धि गर्दै उपभोक्तालाई शुद्ध खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको छ ।

सरकारको लक्ष्य अनुरुप प्रत्येक घरमा एक घर एक धारा निर्माण गर्ने लक्ष्यका साथ ती योजना निर्माण भइरहेका छन् । केही स्थानमा खानेपानीको मुहान तथा स्रोत नभएका ठाउँमा भने लिफ्टिङमार्फत उपभोक्तालाई पानि खुवाउने लक्ष्य रहेको छ । जिल्लामा खानेपानीको समस्या विस्तारै हट्न थालेका छन् । यी योजना बेलैमा सम्पन्न भएमा भने अधिकांश जिल्लाका स्थानीयवासीका घरघरमा खानेपानीको धारा तथा पानी पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?