यमनको विमानस्थलको त्यो डरलाग्दो बम विस्फोट : रेड कार्पेटमा जब लाशहरु बज्रिए !

डराएका छैनौँ, काम गर्ने हिम्मत जुटेको छ : प्रधानमन्त्री

काठमाडौं । यमनको अस्थायी राजधानी एडन विमानस्थलमा ३० डिसेम्बर एउटा हवाइजहाज ल्याण्ड गर्छ । जसमा सवार हुन्छन् यमनका नवगठित मन्त्रीमण्डल । छिमेकी मुलुक साउदी अरेबियाबाट आएको उक्त विमान ल्याण्ड गरेपछि मन्त्रीमण्डलका सदस्यहरु विमानबाट उत्रिँदै हुन्छन् । उनीहरुको स्वागतका लागि त्यहाँ मानिसहरुको भीड पनि जम्मा भएको हुन्छ । जनताले नयाँ सरकारलाई निकै हर्षोल्लासका साथ स्वागत गरिरहेका हुन्छन् । पत्रकारहरु पनि क्यामेरा र माइक्रोफोनको साथमा तैनाथ हुन्छन् ।

यत्तिकैमा विमानस्थलमा ठूलो विस्फोट हुन्छ । विमानबाट उत्रिँदै गरेका केही सदस्यहरु भित्रै पस्छन् । भागदौड मच्चिन्छ । मानिसहरु ज्यान जोगाउन यत्रतत्र भाग्छन् । कोही भने विस्फोटको झट्काले प्रतिक्रियाविहीन भइ त्यहीँ उभिइरहन्छन् । केही मानिसको लाश भूइँमा बजारिन्छ । केही मानिस पीडामा छटपटाइरहेका देखिन्छन् । केही समयअघिसम्म उत्सव मनाइरहेको स्थान एकाएक उजाड बन्छ ।

यो दृश्य हो यमनको एडन शहरस्थित विमानस्थलको । आन्दोलनकारी गिरोहद्वारा हालै त्यहाँ ठूलो आक्रमण भएको छ ।

२२ जनाको मृत्यु, ५० जना घाइते

सन् २०२० डिसेम्बर ३० बुधवारका दिन विमानस्थलमा भएको सो विध्वंशकारी आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको र ५० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

मृत्यु हुनेमा सरकारी कर्मचारी र अन्य अधिकारीहरु रहेका छन् । विष्फोटमा सर्वसाधारण परे नपरेकोबारे जानकारी आएको छैन । यमनका प्रधानमन्त्री मइन अबदुल मल्लिक सइदले आफू लगायत आफ्नो मन्त्रीमण्डलका सदस्यहरु सुरक्षित रहेको बताएका छन् । सूचनामन्त्री इरियानीले भने यस आक्रमणमा हूथी गिरोहको हात भएको भन्दै आफ्नो ट्वीटरमार्फत् उनीहरुलाई कायरतापूर्ण आन्दोलनकारी काम गरेका आरोप लगाएका छन् । उनले घटनामा मृत्यु भएका कुनै पनि व्यक्तिको ज्यान आफ्नो भन्दा कम मूल्यवान नभएको भन्दै उनीहरुलाई ‘शहीद’ भन्दै सम्बोधन गरेका छन् भने घाइतेहरुलाई सुस्वास्थ्यको कामना गरेका छन् ।

गृहयुद्धले थलिएको यमन

हूथी गिरोहले यमनको राजधानी सना कब्जा गरेसँगै सरकारमाथि पनि अधिपत्य जमाएको थियो । त्यस लगत्तै यमनको दक्षिण भेगका क्षेत्रहरुमाथि पनि विस्तारै आफ्नो नियन्त्रण जमाउन थालेपछि तत्कालीन प्रधानमन्त्री अब्द्राबुह मनसुर हदी देश छोड्न बाध्य भएका थिए ।

हदीलाई प्रधानमन्त्रीमा पुनस्र्थापना गर्नका निमित्त साउदी अरेबियाको नेतृत्वमा अरब राज्यहरुको गठबन्धन हूथी गिरोहको विरुद्धमा उभियो । साउदी अरेबियाले यस कामका लागि सैन्य अपरेशन नै सञ्चालन गरेको थियो । त्यस दिनदेखि यमन गृहयुद्धमा होमियो । यमनले कहिल्यै शान्तिको श्वास फेर्न पाएन ।

सन् २०१४ देखि शुरु भएको यो द्वन्द्व अहिलेसम्म चलिरहेको छ । दुई शक्तिको टसलमा परी अहिलेसम्म यमनमा १ लाख भन्दा बढी जनताले ज्यान गुमाउनु परेको तथ्याङ्कले देखाउँछ । यसले निम्त्याएको भोकमरी, गरिबी, बेरोजगारीको व्यथा फेरि छुट्टै छ । कोभिड १९ को महामारीले यस देशलाई थप शिथिल बनाएको छ ।

सन् २०१९ मा पनि सैनिकहरुको परेडका दौरान हूथीहरुले गरेको मिसाइल आक्रमणमा परी ३६ जनाको मृत्यु भएको थियो ।

‘डराएका छैनौँ, काम गर्ने हिम्मत जुटेको छ’

यस आक्रमण लगत्तै प्रधानमन्त्री मइन अबदुल मल्लिक सइद तथा उनका मन्त्रीमण्डलका सदस्यहरुलाई सुरक्षित स्थानमा लगिएको थियो । सइदले ट्वीटरमार्फत् आफू लगायत सबैजना सुरक्षित भएको जानकरी गराएका थिए ।

‘यो आक्रमण पनि यमन र यहाँका असल देशवासीहरुका विरुद्ध भइरहेको युद्धको एउटा हिस्सा हो,’ आक्रमणमा हूथी गिरोहलाई जिम्मेवार ठह-याउँदैै उनले भनेका छन्, ‘तर, हामी डराएका छैनौं बरु यस्तो गतिविधिले हामीलाई आफ्नो कर्तव्य पालना गर्न थप हौसला दिएको छ ।’

यमनका राष्ट्रपति लगायत मन्त्रीहरु साउदीको राजधानी रियादमा बस्दै आएका छन् । नवगठित मन्त्रीमण्डलले यमनको गृहयुद्ध अन्त्य गर्न भूमिका निर्वाह गर्ने आशा राखिएको थियो ।

नयाँ नेतृत्व र यमनमा शान्तिको आगमनलाई प्रतिबिम्बित गर्दै बुधवार मन्त्रीहरुको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट समेत विछ्याइएको थियो । तर, सोही वेला भएको हिंसात्मक विस्फोटले भने उनीहरुको फिर्ती पनि जोखिमपूर्ण रहेको भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा बहस हुन थालेको छ ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?