मन्त्रिपरिषद विस्तारविरुद्धको रिटको सुनुवाइ आज हुँदै

काठमाडौं । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथिको सुनुवाइ आज हुँदैछ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीवारका लागि तोकिएको हो ।

पुस १३ गते सर्वोच्च अदालतमा परेको सो रिटलाई बुधवार ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो ।

संसद् विघटनपछि मन्त्रिपरिषद विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

संसद विघटनपछि केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको र सरकार कामचलाउ भइसकेको अवस्थामा संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेकाले त्यसलाई बदर गर्न रिटमा माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?