ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को शुक्रबारदेखि निर्वाचन हुने भएको छ । निर्वाचन तालिका सोमबार परिषद्को कार्यालय फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा सार्वजानिक गरिएको हो । पुस १७ गतेदेखि उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता समूह निर्वाचन प्रक्रिया गरी माघ १२ गतेसम्ममा परिषद्को निर्वाचन गर्ने तयारी भएको परिषद्का संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।
पूर्वतयारीका साथ संरक्षण व्यवस्थापन कार्यालय कार्मचारी कार्य क्षेत्रसम्म पुगिसकेको तिवारीले बर्ताए । सबै सुरक्षा प्रबन्ध भइसकेको केही कार्यालयका काम मात्र बाँकी रहेको तिवारीले बताए । गत वर्ष जेठ २८ मा परिषद् अध्यक्ष खकेन्द्र फेम्बूको पाँचवर्षे कार्यावधि पूरा भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले एक वर्षका लागि कार्यावधि थप गरेको थियो । एक वर्षको अवधि पूरा भएपछि परिषद् विघटन भएको थियो । परिषद् विघटन भएको आठ महिनापछि निर्वाचन गर्नतिर लागेको हो । पहिला पनि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो तर कोरोनाका कारणले निर्वाचन हुन सकिएको थिएन ।
विघटनपछि परिषद्ले पूर्णता नपाएकाले आर्थिक तथा प्रशासनिक काम सबै रोक्का भई परिषद्अन्तर्गतका कर्मचारीलाई गत असारयता पारिश्रमिक दिन सकिएको थिएन । जडीबुटी सङ्कलन निकासी पुर्जी, वनपैदावारसम्बन्धी क्रियाकलापका साथै पर्यटन विकास पूर्वाधारसम्बन्धी काम सञ्चालन गर्न समस्या भइरहेको जनाइएको छ । समृद्ध पहाड परियोजना र परिषद्बीच पाँच वर्षयता सम्झौता भएअनुसार कार्यक्रम सञ्चालन हुँदै आएको छ । लामो समयसम्म परिषद्ले पूर्णता नपाउँदा व्यक्तिगत लगानी गरेर केही कार्यक्रम गर्नुपरेको परियोजना ताप्लेजुङका कार्यक्रम संयोजक चित्राकुमारी चङ्सूले बताइन् । गत असार मसान्तमा पूर्ण सम्झौता गर्नुपर्ने भए पनि परिषद् गठन नभएकाले अहिलेसम्म सम्झौता हुन नसकेको जनाइएको छ ।
परिषद्को पूर्ण गठनका लागि विभागले गत साउन ७ गते पत्रमार्फत कात्तिक मसान्तसम्म परिषद्को पूर्ण गठन सकाएर विभागमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । विभागको निर्देशनानुसार परिषद्ले आफ्नो तयारी गरे पनि कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले तत्कालका लागि परिषद्को पूर्ण गठन नगर्न पत्रमार्फत निर्देशन दिएसँगै पूर्ण गठन प्रक्रिया रोकिएको परिषद्का प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए । परिषद् लामो समय गठन हुन नसकिरहेका समयमा परिषद्ले खेप्दै आएको प्रशासनिक समस्या नयाँ परिषद् आएपछि समाधान हुने तिवारीले बताए । कञ्चनजङ्घा संरक्षण ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिकाभित्र दुई हजार ३५ किलोमिटरमा क्षेत्रफलमा फैलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया