‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माणमा कुलमान घिसिङको ऐक्यबद्धता

RSS
0
Shares

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बुद्ध जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

नेपालमा एक रुपैयाँ र अन्यत्र एक अमेरिकी डलर दान अभियान चलाएर केन्द्रका संरचना निर्माण गर्न शुरु गरिएको छ । लुम्बिनीमा आज भएको कार्यक्रममा निवर्तमान कार्यकारी निर्देशक घिसिङले केन्द्रको परिकल्पनाकार श्यालपा तेन्जिङ रिन्पोचेलाई एक रुपैयाँ दान दिएर अभियानमा ऐक्यबद्धता जनाएका हुन् । उनले केन्द्रको स्थापना विश्व शान्तिका लागि महत्वपूर्ण भएकाले निर्माणमा अपनत्व लिएर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा परिकल्पनाकार रिन्पोचेले सबैको सहभागिता र अपनत्व हुने गरी अभियानमार्फत केन्द्रको स्थापना गरेर लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउन लागिएको बताए । अभियान गत कात्तिकमा शुरु गरिएको थियो । युनिभर्सल पिस केन्द्रमा दुई हजार बढी क्षमताको अन्तर्राष्ट्रियस्तरको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय तथा सङ्ग्रहालय हुनेछन् ।

विभिन्न मुलुकका शोधकर्ता रहने खोज अनुसन्धान केन्द्र रहने छ । जसले प्राचीन र आधुनिक भाषामा लेखिएका बौद्ध धर्मसम्बन्धी पुस्तकको सङ्कलन, चर्चा, व्याख्या गर्नेछन् । जर्मन आर्किटेक्टले डिजाइन गरेको कमलको फूल आकारमा बनाउन लागिएको केन्द्र तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ । केन्द्रको मुख्य आकर्षण सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मिएका भगवान् बुद्धको एउटा विशाल, सुन्दर मूर्ति राखिने गरी डिजाइन गरिएको छ ।

अत्याधुनिक प्रविधि र सामग्री प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयू ५०० वर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भूकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको बताइएको छ । महायानी सम्प्रदायलाई छुट्याइएको पश्चिम क्षेत्रको १२० मिटर वर्गाकार प्लटमा दक्षिण कोरियाली विहार नजिक केन्द्र निर्माण भइरहेको छ । विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बीलगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकले समेत साधना गर्नेस्थलका रुपमा दुईवर्ष अघिबाट गुम्बाको निर्माण शुरु गरिएको हो । लुम्बिनीमा निर्माण गरिएको कोरियन गुम्बाको पछाडि सो केन्द्र निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?