लोकसेवाको तयारी गर्दै हुनुहुन्छ ? यसरी गर्नुहोस् तयारी (टिप्ससहित)

लोकपथ
0
Shares

काठमाडौं – सरकारी जागिर खाने रहर कसलाई हुँदैन र ?  सरकारी जागिर खाने अभिलाषाका साथ धेरै मानिसहरु लोकसेवाको तयारीमा जुट्छन् । एकपटक मेहनत गरेका कारण जीवनभर सुखी खुशी बन्न सकिन्छ भनेर पनि नेपालमा लोकसेवाको तयारी गर्नेको संख्या धेरै छ ।  तर पढ्ने तरिका नजान्दा धेरै मानिसहरु आफ्नो लक्ष्यमा पुग्न असफल भइरहेका छन् । परिक्षामा कति लेख्ने, कसरी लेख्ने  ? कति पढ्ने, कसरी पढ्ने?

तपाइले यसरी परीक्षाको तयारी गर्नुभयो भने लोकसेवामा तपाइको नाम निस्कने पक्का हुन्छ ।

कसरी पढ्ने ? 

– पहिले आफ्नो लक्ष्य किटान गर्नुहोस् । लोकसेवा नै पास गरी सरकारी सेवामा छिरेर आफ्नो करियर बनाउने लक्ष्यका साथ पढ्न थाल्नुहोस् ।

-कसैको दबाबमा नपढ्नुहोस् । पढ्ने कुरालाई मन देखिनै जागृत गर्नुहोस् ।

-सधै सकारात्मक हुनुहोस् । असफल हुँदैमा नआत्तिनुहोस् । प्रयास गर्ने मान्छै नै असफल हुने हो भन्ने कुरा सोच्नुहोस् । धेरैचोटी असफल भएर पनि पछि सफल भएका विश्वविख्यात व्याक्तिहरुको जीवनीलाई आत्मसात गर्नुहोस् ।

-पढेरमात्रै लोकसेवा पास गर्न सकिदैन । सबै कुरा मिल्नुपर्छ । पहिलोचोटि मै सफल नहुन पनि सकिन्छ । त्यसैले, धैर्यताको बाँधलाई टुट्न नदिनुहोस् ।

-पढ्दा कुनै एउटा पाठ्य सामाग्रीको मात्रै भर नपर्नुहोस् । बजारमा गुणस्तरिय भन्दा पनि प्रचारमुखी सामाग्री बढि पाईन्छन् । त्यसैले पाठ्य सामाग्री चयन गर्दा सम्पर्ण पाठ्यक्रमलाई समेटेका गुणस्तरीय सामाग्री चयन गर्नुहोस् ।

-सकेसम्म नोट बनाउने बानी बसाल्नुहोस् । नोट बनाउदा धैरै सामाग्री हेरेर बनाईन्छ । जसबाट धेरै कुरा जान्ने मौका मिल्छ ।

-समसामयिक बिषयमा अपडेट हुनुहोस् । समसामयिक को लागी छुट्टै नोट तयार गर्नुहोस् ।

-राष्ट्रियस्तरको पत्रिका पढ्ने , राष्ट्रियस्तरको रेडियोको समाचार सुन्ने, सरकारी निकायहरुले निकालेका प्रतिवेदनहरु हेर्ने बानी बसाल्नुहोस् ।

-(कोचिङ) सेन्टरको मात्रै भर नपर्नुहोस् । कोचिङ सेन्टर गाईडलाईन मात्रै हुन् । त्यहाँ पढेको कुरो नै परीक्षामा आउँछ भन्ने हुँदैन । त्यसैले कम्तिमा एकचोटी कोचिङ गएर पढ्ने आधार बनाउनुहोस् । तर सम्पूर्ण रुपमा भर नपर्नुहोस् ।

-पढ्ने समयतालिका निर्धारण गर्नुहोस् । निरन्तर नपढ्नुहोस् । तर पढ्ने समयमा ध्यान केन्द्रित गरेर पढ्नुहोस् । बुझेर पढ्नुहोस् । पढेको कुरालाई सम्झने र विश्लेषण गर्ने गर्नुहोस् । पढाईलाई बोझको रुपमा नलिनुहोस् ।

-सबै विषयलाई उत्तिकै महत्व दिनुहोस् । कहिलेकाहि आफूले आउँदैन होला भनेको कुरा नै परीक्षामा सोधिन सक्छ । त्यसैले पाठ्यक्रमलाई राम्ररी ख्याल गरी सबै कुरालाई अध्ययन गर्नुहोस् ।

-आफ्नो परीक्षा आफै लिनुहोस् । पुराना प्रश्नपत्र को हल निश्चित समय छुट्टाएर घरमै बसेर गर्नुहोस् ।

-मिल्छ भने टिम बनाएर कहिलेकाहि छलफल गर्नुहोस् । कोरोनाको कहरका कारण अहिले तपाइले अनलाईनबाट पनि छलफल गर्न सक्नुहुन्छ ।

परीक्षामा कसरी लेख्ने ? 

– समय सीमित तर लेख्ने विषय धेरै हुने हुँदा परीक्षामा समय व्यवस्थापन चुनौतीका रूपमा रहन्छ । कतिपय परीक्षार्थीहरूले उत्तर जान्दा जान्दै पनि समय व्यवस्थापन गर्न नसकी असफल भएको पाइन्छ । त्यसैले समयलाई ध्यान दिनुहोस् र परीक्षा केन्द्रमा पनि समयमै पुग्नुहोस् ।

– परीक्षा हलमा आफूलाई चाहिने सबै सामग्री लिएर जानुहोस् । एक बोतल पानी पनि लिएर जानुहोस् । अध्ययनले के देखाएको छ भने परीक्षा हलमा पानी लिएर जानेले अरूलेभन्दा १० प्रतिशत राम्रो गर्न सक्छ ।

–जानेको कुरो सबै लेख्न नथाल्नुहोस् । प्रश्नले सोधेको उत्तर छोटो तर तथ्य र तथ्याङ्कसहित सिलसिलाबद्ध रूपमा लेख्नुहोस् । अनावश्यक गफ लेखेर समय खेर नफाल्नुहोस् ।

–परीक्षा हलमा रहँदा मनलाई सकारात्मक बनाउनुहोस् । नआत्तिनुहोस् । परीक्षाको सन्दर्भमा फैलाइएका अनावश्यक हल्लाको पछि नलाग्नुहोस् ।

– उत्तर लेख्दा प्रत्येक परीक्षार्थीको शैली फरक–फरक हुन सक्छ । त्यसैले कसले कस्तो लेख्योभन्दा पनि प्रश्नले के मागेको हो र आफूले के लेख्ने भन्ने कुरालाई ध्यान दिनुहोस् । आवश्यकता अनुसार बूँदागत र व्याख्यात्मक दुवै रूपमा लेख्नुहोस् ।

– उत्तरको सुरुवात र अन्त्य चोटिलो बनाउनुहोस् । सुरुमै नकरात्मक उत्तर नलेख्नुहोस् । निष्कर्ष लेख्दा पनि समस्याको पहिचान गर्दै समस्यालाई समधान गर्न कसले के गर्नुपर्ने हो, त्यसलाई सकारात्मक रूपमा प्रस्तुत गर्नुहोस् ।

अन्तार्वार्ताको चरणमा के गर्ने, के नगर्ने ? 
अन्तर्वार्ता , परीक्षार्थी र परीक्षक प्रत्यक्ष रूपमा भेटघाट हुने चरण हो । अन्तर्वाता दिनेको हाउभाउ, बोल्ने तरिका, पोषाक, उसको व्यवहार इत्यादीले अन्तरवार्ता लिनेलाई प्रभावित तुल्याउने हुँदा अन्तरवार्ता दिनेले निम्न विषयलाई ध्यान दिनुपर्छ ।

–औपचारिक र सफा पोसाकमा उपस्थित हुनुहोस् । उत्ताउलो र तडकभडक किसिमको पोसाक नलगाउनुहोस् ।

– अन्तर्वार्ता लिने सबैलाई एकमुष्ट सम्बोधन गर्नुहोस् । तोकिएको कुर्सीमा अनुशासनपूर्वक बस्नुहोस् ।

– अन्तर्वार्ता लिनेले परीक्षार्थीको मनोविज्ञान बुझ्न राम्रो विषयलाई पनि नराम्रो रूपमा प्रस्तुत गर्न सक्छ । त्यसैले सकारात्मक उत्तर दिनुहोस् ।

– अन्तर्वार्ता दिँदा नडराउनुहोस् । निर्धक्क भएर प्रस्तुत हुनुहोस् । आफ्नो विचारलाई निर्भिक रूपमा राख्नुहोस् ।

– कतिपयले अन्तर्वार्ताको समयमा खुट्टा चलाउने, कपाल कनाउने, दाँत टोक्ने इत्यादी गर्ने गरेको पाइन्छ । त्यस्तो काम कदापि नगर्नुहोस् । अन्तर्वार्ताको वातावरणलाई रोमाञ्चित बनाउनुहोस् । मुस्कुराएर उत्तर दिनुहोस् । अन्तर्वार्ता लिनेलाई सकारात्मक प्रभाव पार्नुहोस् ।

– आफूले नजानेको विषयलाई जानेजस्तो गरेर नभन्नुहोस् । नजानेको प्रश्नलाई निर्धक्क भएर आफूलाई सो प्रश्नको उत्तर नआउने बताउनुहोस् । मैले यो विषयमा अध्ययन गरेको रहेनछु । अब म यो विषयमा जानकार रहेनछु भन्नुहोस् ।

– आफूले दिएको उत्तरको आधारमा अन्य प्रश्न पनि जोडिन सक्ने हुँदा आफूलाई सजिलो लाग्ने विषयतिर अन्तर्वार्तालाई मोड्नुहोस् । उदाहरणको लागि :  तपाईंलाई के गर्न मन पर्छ ? भनेर सोधियो र तपाईले मलाई फुटबल खेल्न मन पर्छ भन्नुभयो भने तपाईंलाई फूटबलसम्बन्धी अन्य धेरै प्रश्न सोधिन सक्छ । त्यसैले  आफूलाई ज्ञान भएको विषयबारे भन्नुहोस् ।

– अन्तर्वार्ता दिन जाँदा राष्ट्रिय अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमको बारेमा बुझेर, अध्ययन गरेर जानुहोस् ।

– अन्तर्वार्ता लिनेलाई अनुचित प्रभाव पार्न नखोज्नुहोस् । मैले ‘सोर्सफोर्स’ लगाएको छु । हजुरहरूले मलाई पास गराइदिनै पर्छ । तपाईंहरूले कृपा गर्नु भयो भने सफल भइएला जस्ता कुरा नराख्नुहोस् । तपाईले पास गर्नुभएन भने राम्रो हुँदैन भन्ने धाक धम्की देखाउने जस्ता गतिविधी गर्नुहुँदैन । तत्काल तपाईलाई पक्राउ गर्न समेत सक्छन् । होसीयार रहनुहोस् ।  योग्यता प्रणाली बमोजिम सफल हुनेछु । यदि सफल हुन सकिन भने पनि पुनः मिहिनेत गरी सेवामा प्रवेश गर्नेछु भनेर अन्तर्वार्तालाई टुङ्ग्याउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?