२०७७, १७ पुष शुक्रवार ०८:००

तपाईको बालबालिका एसईई परीक्षा दिँदै हो ? अभिभावकले जान्नैपर्छ यी कुरा


प्रकाशित मिति : २०७७, १७ पुष शुक्रवार ०८:००

काठमाडौं  – “हाम्रा छोराछोरीहरुलाई ति सबै कुराहरु प्राप्त गर्न सकून् जुन हिजो हामीलाई प्राप्त हुन सकेन ।”
अधिकांश अभिभावकहरुको साझा विचार हो यो ।

त्यसैले पनि छोराछोरीहरुका हरेक साना–ठूला चाहनाहरु पूरा गर्नका लागि सधैं प्रयत्नशील रहन्छन्, आमाबुबा । जुन स्वभाविक पनि हो ।

हिजोआज अभिभावकहरु नानीबाबुहरुलाई सकेसम्म धेरै भन्दा धेरै भौतिक वा शारीरिक, सुखसुविधा उपलब्ध गराएर सम्पन्न रुपमा हुर्काउने कोशीस गरिरहेका छन् । तर अधिकांश अभिभावक एउटै कुरामा भुलेका हुन्छन् । त्यो हो असल संस्कार र व्यवहारीक ज्ञान ।

बालबालिकामा भोलीका दिनमा सफल जीवनयापन गर्नका लागि आवश्यक अनुभव, ज्ञान र परिपक्ताको विकास कुन स्तरमा भइरहेको छ भन्ने कुरालाई खासै ध्यान दिने चलन नेपाली समाजमा छैन ।

आफ्ना नानीबाबुहरुलाई सुखसुविधा नदिने भन्ने हैन, दिनुपर्छ । तर यो सन्तुलित मात्रामा हुनुपर्छ भन्ने कुरामा भने अभिभावकहरु सचेत रहन आवश्यक छ । सुविधा दिने क्रममा कतै आभिभावकबाट केही कुराहरु नजरअन्दाज त भैराखेका छैनन् यो सोच्नु पर्ने प्रश्न हो ।

नानीबाबुहरुलाई आवश्यकता भन्दा धेरै नियन्त्रण तथा बचाउ गरेर हुर्काउन खोजेको खण्डमा पनि उनिहरु आफ्नै खुट्टामा बलियोसँग उभिन आवश्यक अनुभव, ज्ञान र परिपक्वता हासिल गर्न बाट बन्चित हुन सक्छन् । यसले भविष्यमा उनीहरुलाई जो कसैको सहारा चाहिन सक्छ ।

नानीबाबुहरुलाई पूर्ण रुपमा स्वतन्त्र छोडिदियो तथा उनिहरुलाई आवश्यक वा उचित मार्ग दर्शन गरिएन भने पनि परिपक्वताको अभावका कारण उनिहरुले गलत निर्णय लिन सक्ने डर उत्तिकै प्रबल हुन्छ ।

यसैले आफ्ना नानीबाबुहरु प्रति अभिभावकहरुको माया, हेरविचार,र नियन्त्रण गर्ने शैली एकदमै सन्तुलित हुन आवश्यक छ ।

कोरोना भाइरस ‘कोभिड १९’ को एक वर्ष लामो कहरकाबीच एसईई परीक्षा नजिकिँदै छ । स्कुलमा गएर अध्ययन गर्न नपाइकन एसईई परीक्षाको लागि तयारी गरिरहेका बालबालिका र आफ्ना छोराछोरीलाई सही दिशातर्फ डो-याउन अभिभावकको भूमिका अहम हुन्छ । अभिभावकको समझदारी र सहयोगले नै छोराछोरीले परीक्षामा राम्रो अंक हासिल गर्न सक्छन् । अभिभावकको सार्थक सहयोगले नै नानीबाबुहरु प्रगतिपथमा लम्कन्छन् । लोकपथले लोकपथ ईडियू कार्यक्रममा बेला शिक्षाविद् तथा प्रिन्सीपलसँग केहि टिप्सहरु दिन अनुरोध गरेको थियो ।

अध्ययनको वातावरण : 

परीक्षाको समय निकै कठिन समय हो । यतिबेला विद्यार्थीहरु मानसिक रुपले थकित त हुन्छन् नै उनीहरुमा चिन्ता पनि हुन्छ परीक्षामा राम्रो अंक कसरी ल्याउने भनेर । यस्तो बेला अभिभावकहरु घरमा झै–झगडा गर्छन् भने छोराछोरीको मन(मस्तिष्कमा नकारात्मक आघात पर्छ ।

झैझगडा मात्र होइन, अभिभावकको हरेक नकारात्मक गतिविधिले अध्ययनमा जुटेका छोराछोरीमा गम्भीर असर पर्छ । त्यसैले अध्ययनको राम्रो वातावरण सृजना गरिदिनुपर्छ । राम्रो वातावरणका लागि शान्त ठाउ भएर मात्र पुग्दैन, घरपरिवारको व्यवहार पनि आत्मीय र प्रेरणादायी हुनु पनि जरुरी छ । तर रिस डर धम्की देखाउनु कदापी हुँदैन ।

मनोविज्ञान बुझ्ने : 

हरेक बालबालिकाको मनोविज्ञान र क्षमता अनि रुचि फरक फरक स्तरको हुन्छ । सबै अभिभावक र विद्यालयको चाहना उस्तै हुन्छ । सबैले बराबर अंक प्राप्त गरुन् । जुन असम्भव प्रायः हुन्छ । अर्कोतिर कक्षा १० मा पुगेका बालबालिकाको उमेरका कारण, शरीरमा हुने वृद्धि विकास, हर्मोनको कारण एवम् मनोविज्ञान फरक तरिकाको हुन्छ ।

मैत्रीपूर्ण व्यवहार : 

परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई सधैं नै असल साथीको खाँचो हुन्छ र त्यो अभाव अभिभावक स्वयंले पूरा गर्न सक्छन् । आफू कति कमजोर छु, कुन–कुन विषयमा कमजोर छु भन्ने जस्ता कुरा उनीहरु आफ्ना साथीलाई मात्र भन्न सक्छन् । शिक्षक वा अभिभावकका अगाडि डरले पनि यस्ता कुरा लुकाउँछन् । त्यसैले उनीहरुको कमजोरी थाहा पाउन उनीहरूसँग मित्रवत् व्यवहार गर्नुपर्छ ताकि उनीहरु आफ्नो कमजोरीका सम्बन्धमा सजिलै खुल्न सकून् । छोराछोरीको कमजोरी बुझेर सोहीअनुरूपको शिक्षाको प्रबन्ध गर्न सकिन्छ ।

कक्षा १० मा पुगेका छोराछोरीको उमेर भनेको सुन्दर देखिन खोज्ने, स्मार्ट बन्न खोज्ने उमेर हो । यसलाई अभिभावकले बुझेर हौसला र आवश्यक सल्लाह दिनुपर्दछ । परीक्षा र नतिजामा मात्र ध्यान दिने होइन, उनीहरुका इच्छा र स्वतन्त्रतालाई पनि ध्यान दिनु असल अभिभावकको गुण हो ।

शिक्षकको भूमिका : 

अभिभावकले शिक्षकका रुपमा पनि भूमिका खेल्नुपर्ने हुन्छ । छोराछोरीलाई अनुशासनमा बाँधेर, उनीहरूले नबुझेको कुरा सहज रुपमा उनीहरुलाई सिकाइदिनु अभिभावकको कर्तव्य हो ।

प्रेरणाको स्रोत : 

छोराछोरीका निम्ति सधै प्रेरणादायी भूमिका अभिभावकले नै खेल्नुपर्छ । प्रेरणाले छोराछोरीहरुमा नयाँ ऊर्जा थपिन्छ, केही गर्छु भन्ने जोस आउँछ । ‘तिमी परीक्षामा सफल हुन्छौ, तिमीले गरेको प्रयास राम्रो छ’ जस्ता प्रेरणादायी बोली व्यवहार उनीहरुमाथि झल्काइरहनुपर्छ । अध्ययनका क्रममा उनीहरूमा हीनताबोध सिर्जना हुन दिनु हुँदैन । उचित हौसला एवम् प्रेरणाको अभावमा पनि विद्यार्थीहरु कमजोर हुन्छन् ।

सहयोगी : 

अध्ययन गरिरहेको बेलामा अभिभावकले बारम्बार डिस्टर्व गर्नु हुँदैन । तसर्थ उनीहरूलाई डिस्टर्ब हुने कुराबाट सचेत रहनुपर्छ । धेरै पढ्–पढ् भन्दा पनि उनीहरु निरास हुन सक्छन् । त्यसैले पनि उनीहरुलाई पढ्नको लागि राम्रो वातावरणको सहयोग गर्नु पर्छ ।

समय दिने : 

आजभोलिका अभिभावक सबै नै व्यस्त छन् र पनि प्रत्येक दिन १०(१५ मिनेट समय छुट्ट्याएर छोराछोरी संवाद गर्नुपर्छ । छोराछोरीलाई आफैँ मेहनत गर भनेर अर्‍हाउने, के कति पढ्यौ ? कति समय पढाइमा दियौ ? टीभी हेर्‍यो कि हेरेन, कम्प्युटरमा धेरै बस्यो कि फेसबुक चलायो कि जस्ता प्रश्न कुनै पनि छोराछोरीलाई मन पर्दैन ।

भाइरसबारे सचेत गराउने तर डर नदेखाउने  : 
एक वर्ष लामो समय विश्वलाई आफ्नो नियन्त्रणमा राखेर उकुसमुकुस बनाएको कोरोना भाइरस कोभिड १९ को त्रास अझै घटेको छैन । विश्व भयवित छ । अझै दुई साताअघि यस भाइरसको नयाँ स्टेन आएका कारण पनि फेरिब बैरिँदै गरेको विश्व आतंकित भएको छ । यसअर्थ यो विषम परिस्थितीका बाबजुत नजिकीएको परीक्षाको तयारीम जुटेका बालबालिकालाई जानकारी चाहिँ पक्कै गराउनुहोस् तर डर नदेखाउनुहोस् ।

फराम खुल्यो  : 
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाको लागि आवेदन खुला गरेको छ ।

बुधवार एक सूचना जारी गर्दै बोर्डले यस वर्ष सञ्चालन हुने एसईईको परीक्षा फारम खुला गरेको हो ।

जसअनुसार आवेदन कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले पुस १६ देखि माघ २१ गतेसम्म परीक्षा फारम भरिसक्नुपर्नेछ । बोर्डका अनुसार उक्त आवेदन फारमा भर्नका लागि प्रति विद्यार्थी ५ सयका दरले शुल्क लाग्नेछ ।

त्यस्तै २०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको बोर्डले जनाएको छ ।

साथै हाल कक्षा ९ मा अध्ययन गरिरहेका विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न समेत बोर्डले सूचना जारी गरी आह्वान गरेको छ ।

यसअघि चैत ६ गतेका लागि परीक्षाको मिति तय भएपनि कोरोना महामारीका कारण परीक्षा रोकिएको थियो । अन्ततः विद्यार्थीहरुलाई आन्तरिक मूल्यांकन विधिबाट उत्र्तिण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस