सातवटा खानेपानी योजना निर्माण शुरु

तेह्रथुम, १६ असोज ।तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम शुरु भएको छ । विभिन्न छ गाउँका ७४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण शुरु भएको हो ।ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी खानेपानी योजनाहरुको निर्माण शुरु भएको हो ।जिल्लाका सुक्खाग्रस्त क्षेत्रको खानेपानी समस्या सुल्झाउन फण्ड बोर्डको सहयोगमा खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत खानेपानी योजना निर्माण थालिएको सोसाइटीका निर्देशक कपिलदेव सिंगकले बताए । सुक्खाग्रस्त फेदाप गाउँपालिका–१ सिम्लेमा सापकोटा र साक्चुवा खानेपानी योजनाहरु निर्माण हुने भएका छन् ।यस्तै हमरजुङमा देउराली खानेपानी योजना, सक्रान्तिमा सोदन खानेपानी योजना, सुदापमा आहालडाँडा खानेपानी योजना, इसिवुमा रिठ्ठे खानेपानी तथा जलजलेमा चापाबोटे खानेपानी योजनाको निर्माणको काम भइरहेको छ । सातवटै योजना सम्पन्न गर्नका लागि कुल रु चार करोड एक लाख चार हजार ४९६ खर्च हुने सोसाइटीका खानेपानी तथा सरसफाइ अधिकृत जितलाल लिम्बूले बताए । जसमध्ये फण्ड बोर्डको एक करोड ६४ लाख ३७ हजार ७४१, स्थानीयवासीद्वारा संकलित नगद रु ४० लाख ६ हजार २७६ र रु एक करोड ९६ लाख ६० हजार ४७८ बराबरको श्रमदान रहेको छ । ती आयोजना निर्माण भएपछि ७४६ घरधुरीका तीन हजार ८०२ जनाले पाइप प्रणालीको शुद्ध खानेपानी उपभोग गर्न पाउनेछन् ।जिल्लामा यसअघि पनि खानेपानी तथा सरसफाइ कोष विकास समितिको सहयोगमा करिब एक दर्जन खानेपानी योजना निर्माण भएका थिए । खानेपानी योजना सञ्चालन भएको क्षेत्रमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिएको छ । ती गाउँलाई पूर्ण सरसफाइयुक्त गाउँ बनाउन अभियानकै रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?