ओलीले आफु विरोधी नेताको फोन ट्यापिङ गरिरहेको नेता पुनको आरोप

रोल्पा । नेकपा नेता तथा पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेताहरूको फोन ट्यापिङ गरेर आफ्ना विरोधीको प्रत्यक्ष जासुसी गरिरहेको आरोप लगाएका छन् । संसद् विघटनविरुद्ध लिवाङमा मंगलबार नेकपाको दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभामा पुनले प्रधानमन्त्री ओली आफूभन्दा फरक विचार राख्नेविरुद्ध गैरकानुनी तवरमै खनिन थालेको बताएका हुन् ।

आफ्ना विरोधी विचारलाई दबाउन प्रधानमन्त्री ओलीले राज्य संयन्त्रलाई आफ्नो नियन्त्रणमा राखेको नेता पुनले बताए । राष्ट्रिय अनुसन्धान विभागलाई रातारात आफ्नो मातहत राखेको, राजस्व अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई नियन्त्रणमा लिएर तर्साउन थालेको उनको आरोप छ ।

‘रातारात प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान कार्यालय आफ्नो मातहत राख्ने किन रु’ उनले भने, ‘राजस्व अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई आफैं नियन्त्रणमा लिनुभो, फरक विचार राख्नेलाई सताउन थाल्नुभो ।’ ओलीले पार्टीभित्रका साना विवादका कारण मात्रै यस्तो कदम नचालेको भन्दै उनले अन्तर्राष्ट्रिय गुप्तचर निकायका मानिसको भ्रमण र पूर्वराजासँगको साँठगाँठको चर्चापछि संसद् विघटनको घटना भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?