२०७७, १४ पुष मंगलवार २२:३२

कीर्तिपुरमा बसेर नेदरल्याण्डको धाक ! नक्कली आइडी बनाएर ४२ लाख ‘पच’


प्रकाशित मिति : २०७७, १४ पुष मंगलवार २२:३२

काठमाडौँ– सामाजिक सञ्जालको दुरुपयोग गरी लाखौँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्वी रुकुम घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र सोही ठाउँकी १९ वर्षीया आशा श्रेष्ठ रहेका छन् । उनीहरुलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनीहरुले नक्कली आइडी खोली आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै पीडितलाई साथी बनाएर झण्डै रु ४२ लाख ठगी गरेको भनी उजुरी परेको महाशाखाले जनाएको छ । थापाका अनुसार आफू नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामान, आइफोन सुनका गरगहना तथा डलरसमेत पठाइ दिने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ ।

उनीहरुले दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको बैंक खातामा तथा आइएमइमार्फत रु ४२ लाख ठगी गरेको प्रहरीले जनाएको छ । अन्य व्यक्तिसमेत घटनामा संलग्न रहेको देखिएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस