२०७७, १४ पुष मंगलवार २२:१३

कीर्ते कागजातमा ऋण दिने बैंकका कर्मचारीविरुद्ध मुद्दा दायर


प्रकाशित मिति : २०७७, १४ पुष मंगलवार २२:१३

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जका तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

बैंकका कर्मचारी र धितो मूल्याङ्कनकर्ताको समेत मिलेमतोमा सरकारी कागजात कीर्ते गरी ऋण प्रवाह गरी भ्रष्टाचार गरेको पाइएकाले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद असगढ, सकिना जसगढ, फहमिदा बानो जसगढ र सूचीकृत धितो मूल्याङ्कनकर्ता कर्णबहादुर केकेविरुद्ध समान रु एक करोड २५ लाख बराबरको भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ ।

उनीहरु विरुद्ध समान बिगो कायम गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । कीर्ते कागजातको आधारमा कीर्ते धितो मूल्याङ्कन गरी उक्त कागजात बैंक शाखामा पेश गरी कर्जा लिने कार्य गैरकानूनी रहेको आयोगको ठहर छ।

प्रतिक्रिया दिनुहोस