गुर्जोको बिरुवा देशभर वितरण गरेका अभियानकर्मी राजलवट सम्मानित

RSS
13
Shares

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जोको एक लाख ५० हजार बिरुवा देशभर निःशुल्क वितरण गरिएको छ ।

पाँच हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमितलाई गुर्जोको धुलो वितरण गरिएको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले गुर्जोको बिरुवा र धुलो देशभर निःशुल्क वितरण गरेका हुन् ।

गुर्जोको धुलोसँगै गुर्जोबाट बनेको चिया पनि वितरण गरिएको उनले बताए । देशभर औषधीजन्य वनस्पतिको बिरुवा र त्यसबाट बनेको धुलो एवं चिया वितरण गरेर मानवीय सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेका अभियानकर्मी राजलवटलाई आयुर्वेद पञ्चकर्म हेल्थ होम एण्ड रिसर्च प्रालि, बनेपा, काभ्रेपलाञ्चोकको भवन उद्घाटनका क्रममा सम्मान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अभियानकर्मी राजलवटलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले जडीबुटी उद्योग विस्तारमा प्रोत्साहन गरिनुपर्ने बताए । सो अवसरमा सम्मानित व्यक्तित्व राजलवट, योग गुरु रुवेन तौजले, राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग गुरु किशोर जोशी, महासङ्घका केन्द्रीय सदस्यलगायतले आयुर्वेदको महत्वका विषयमा प्रकाश पारे ।

कार्यक्रममा उपस्थित सबैलाई ५०० गुर्जोको बिरुवा वितरण गरिएको थियो । यसैगरी गुर्जोसहितको धुलो औषधि, गुर्जोको काँडा र चियाका प्याकेटसमेत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?