सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

तनहुँको घिरिङ गाउँपालिका-५ देउरालीस्थित सडकमा ग२ त ८६३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमवार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार बझाङ घर भएका २३ वर्षीय हेमन्त पातलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपि कोईराला स्वास प्रस्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ भने अन्य २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहाको लहान नगरपालिका-३ स्थित सडकमा स६ प ७२९९ नम्बरको मोटरसाइकल र स११ प २४०२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई सोमवार राति दुर्घटना हुँदा स११ प २४०२ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १५ वर्षीया संगिता महतोको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी संगिताको फ्रेण्डस मोडेल अस्पताल लहान हुँदै थप उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकल
चालकको फ्रेण्डस मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका-२ हरियाली सामुदायिक वन नजिक सडकमा को१ च ९९४५ नम्बरको स्कारपियो र हाल नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमवार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार मिक्लाजुङ नगरपालिका-४ बस्ने सन्तोष लिम्बु र सोही ठाउँ बस्ने २६ वर्षीय सुनिल धमला रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका धमलालाई उपचारको लागि मंगलबारे अस्पतालतर्फ लैजाने क्रममा बाटैमै मृत्यु भएको हो भने लिम्बुको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मोटरसाइकलमाआगोलागी भई नम्बर समेत नचिनिने भएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?