फेरि बल्झियो सनराइज बैंकको विवाद : छलफलका लागि बोलायो राष्ट्र बैंकले

काठमाडौं । सनराइज बैंकको विवाद फेरि बल्झिएको छ । बैंकमा यसअघि भएको संचालक समितिको विवाद बल्झिएको हो ।

बैंकका संचालक बच्छराज तातेडका कारण समितिमा विवाद भएको बताइएको छ । बैंकको संचालक समितिसहितको सहभागितामा गठन हुने विभिन्न कमिटीहरुमा को रहने भन्ने विषयले समितिमा विवाद बल्झिएको हो ।

बैंकका सञ्चालक ताडेड दुई कार्यकाल भन्दा बढी मानव संसाधन समितिमा बसेको तर अन्य समितिमा जान नमानेपछि संचालक समितिमा विवाद उत्पन्न भएको हो।

एउटै समितिमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने कानुनी व्यवस्था छ । तर तातेडले दुई कार्यकाल पूरा गरे पनि अन्य कमिटिमा जाने साथै अन्य संचालकहरुले पनि उनी भएको कमिटीमा जान पाउनुपर्ने कुरा उठाएपछि विवाद चर्किएको हो ।

गत साउन ११ गते पनि बैंक संचालक समितिमा विवाद भएको थियो । सोहि विवाद पुनः बल्झिएपछि विवादका विषयमा छलफल गर्न नेपाल राष्ट्र बैंकले डाकेको छ । ‘बैंक बोर्डमा विवाद भएकाले सामान्य छलफलका लागि बोलाइएको हो ।’ राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले भने । बैंकका संचालकहरुलाई बेला बखतमा छलफलमा बोलाइराख्ने भएकाले यो ठुलो विषय नभएको कार्यकारी निर्देशक ढकालको भनाई छ । ‘यो सामान्य र निरन्तर हुने छलफल हो ।’ उनले भने । राष्ट्र बैंकले बैंकका सबै सञ्चालकहरुसँग आज (मंगलवार) छलफल गर्दैछ ।

गत साउनमा विवाद हुँदा पनि राष्ट्र बैंकले सकेसम्म मिलेर काम गर्न भन्दै सम्झाएर पठाएको थियो । तर फेरी विवाद बल्झिएपछि पुनः छलफलका लागि राष्ट्र बैंकले बैंक संचालकहरुलाई डोकेको हो । विवादका कारण संचालक समितिमा मतभेद भएका कारण बैंकको काम कारवाहीमा समेत अफ्ठयारो परेकाले राष्ट्र बैंकले छलफलका लागि डाकेको बताइएको छ ।

गत साउनमा पनि बैंकका स्वतन्त्र संचालक ओमकृष्ण जोशीका ले विवाद खडा गरेका थिए । उनको राजीनामा सँगै सो विवाद सकिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?