प्रचण्डको सचिवालयले भन्यो, ‘माधव नेपालसँग फाटो ल्याउन षड्यन्त्र भयो’

काठमाडौँ- प्रचण्ड–माधव नेपालका बीच फाटो ल्याउन षड्यन्त्र गरिएको प्रचण्डको सचिवालयले बताएको छ । सोमबार चिनियॉ टोलीसँगको भेटमा प्रचण्डले ‘माधव नेपाललाई अध्यक्ष पद केवल भनिएको मात्र हो’ भन्ने खालको समाचार एक अनलाइनले प्रकाशित गरेपछि त्यसको खण्डन गर्दै प्रचण्डको सचिवालयले भ्रममा नपर्न आग्रह गरेको हो ।

समाचारको खण्डन गर्दै प्रचण्डको सचिवालयले भनेको छ, ‘हाम्रो पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालका बीचमा फाटो पार्ने कुत्सित मनसायबाट प्रेरित छ र नियोजित हिसावले राजनीतिक दुराग्रहपूर्ण निराधार मिथ्या प्रचार बाहेक यो केही नभएको जानकारी गराउँदछौं ।’

पार्टी एकीकरण पश्चात एकीकृत पार्टीमा भएको दुई अध्यक्षात्मक व्यवस्थाप्रति दुबै अध्यक्षहरु दृढ रहेको र दुबै जना बराबर अध्यक्षको हैसियतमा रहेको सचिवालयले स्पष्ट पारेको छ ।

यस्ता दुश्प्रचारको खण्डन गर्दै यसको भ्रममा नपर्न पार्टीका सम्बन्धित सबैमा सचिवालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?