‘हामी अदालतको निर्णय पर्खन्छौँ’- देउवा (भिडियो)

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा पुगेकोले अदालतको फैसला नेपाली कांग्रेसलाई मान्य हुने बताएका छन् ।

सोमबार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले गरेको बिरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक तथा अप्रजातान्त्रिक कदमको रुपमा पार्टीले ठम्याएको बताए । उनले प्रतिनिधि सभाको विघटनको विरोधमा देशभर प्रदर्शन गरिएपनि अदालतले गर्ने निर्णय स्वीकार गर्ने बताएका हुन् ।

उनले भने, ‘यो मुद्धा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो । हाम्रो पार्टीले सधै अदालतलाई सम्मान गरेको छ । अदालतलाई धम्क्याएर यो निर्णय गर, तर्साएर अदालतलाई निर्णय गर्ने काम कहिल्यै गर्दैनौ । हाम्रो इच्छा विरुद्ध होस् कि इच्छा अनुसार होस् । अदालतको निर्णय स्वीकार गर्छौ । अदालतलाई कुनैपनि किसिमको हस्तक्षेप, धम्क्याउने, तर्साउने हामी गर्दैनौ । अदालतलाई स्वविवेकले निर्णय गर्ने अधिकार छ । अदालतको निर्णय पर्खन्छौँ ।’

सरकारको अप्रजातान्त्रिक कदम विरुद्ध पार्टी एक्लैले बिरोध प्रदर्शन गर्ने सभापति देउवाको भनाई छ । कांग्रेसले निरन्तर बिरोधको कार्यक्रम गर्ने र बिरोधको आगामी कार्यक्रम केन्दीय कमिटी बैठक बसेर बनाउने पनि उनले बताए ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?