पैसाको अभाव भइरहन्छ ? यसरी हटाउन सकिन्छ आर्थिक तनाव !

काठमाडौं । वर्ष २०२० धेरैका लागि खराब इतिहास बनेर गयो ।

वर्ष २०२० मा धेरै नराम्रा घटनाहरु भए । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस ‘कोभिड – १९’ ले विश्वका करोडौँ मान्छेलाई थलाएको छ भने लाखौँले ज्यान गुमाएका छन् । यसको अप्रत्यक्ष असर विश्व अर्थ व्यवस्थामा पनि परेको छ र त्यो व्यवस्थासँग सम्बन्धित हरेक व्यक्तिमा पनि । जसको परिणामस्वरुप, धेरै जनशक्तिले आफ्नो जागिर गुमाएका छन् भने कतिको व्यवसाय धरासायी बनेको छ ।

यस्तो अवस्थामा मानिसमा ‘फाइनान्सियल एन्जाइटी’ बढ्नु स्वभाविक हो ।

‘फाइनान्सियल एन्जाइटी’ अर्थात् आर्थिक तनाव । यो सन् २०२१ को ठूलो चुनौती बन्न सक्छ । भलै नाजुक आर्थिक अवस्थाले हामीलाई केही असर नगर्ला तर त्यसको तनावले भने हामीलाई चितासम्म नपु-याउला भन्न सकिन्न ।

अमेरिकन साइकोलोजिकल असोसिएसनका अनुसार हरेक १० मध्ये ७ वयस्कहरुको जीवनमा उनीहरुको आर्थिक अवस्था नै तनावको मूख्य कारण हो ।

फाइनान्सियल एन्जाइटी कम गर्न अपनाउनुपर्ने उपायहरुका बारेमा लोकपथ डटकमले विज्ञहरुसँग कुरा गरेर तयार पारेको सूची तल दिइएको छः

उत्सुकता बढाउने : 

पहिलो कदम यही हो कि आफ्नो पैसालाई लिएर उत्सुक रहनुपर्छ ।

आफ्नो आर्थिक जीवनमा के भइरहेको छ भन्ने बारेमा चासो राखिरहनुपर्छ । यो सूत्र ऋण तिर्ने वेलामा मात्र नभएर हरेक दिन अपनाउनुपर्दछ । अर्थ व्यवस्थापन भनेको ऋण चुकाउने तरिका पहिल्याउनु मात्र होइन ।

यसो गर्ने सही उपाय के हो भने हामीले आफैलाई सोध्न सक्छौं कि हाम्रो पैसाबाट हाम्रो बारेमा के थाहा हुन्छ, हामी आफ्नो समयको सदुपयोग कसरी गर्छौं र हाम्रो लागि के महत्त्वपूर्ण हो ।

आफ्नो पैसामा ध्यान दिने : 

महिनामा कम्तीमा एकपटक यी तीन काम गरौंः

आफ्नो बैंक अकाउन्टमा कति पैसा आउँछ र त्यसमा कति बच्छ भनेर ध्यान राख्ने

कस्तो वित्तीय स्थिति आइपर्न लागेको छ भनेर विचार गर्ने

योजना बनाउने

उदाहरणका लागि यदि तपाईको घरभाडा बढ्दैछ भने तपाईले आफ्नो बजेटमा केही हेरफेर गर्नुपर्ने हन्छ । आफूले गरिरहेको खर्चमा धेरथोर कटौती गरेर महिनाको अन्तिमसम्ममा घरभाडाका लागि केही प्रबन्ध गर्न सकिन्छ । यसलाई विपतको प्रतीक्षा गर्नु होइन बरु पूर्वतयारी गर्नु भनिन्छ ।

आफ्नो खुबीको पहिचान गर्नुहोस्ः

आफ्नो लक्ष्यप्राप्तिका लागि कति प्रगति गर्दैछु भन्ने कुरामा पनि विचार पु-याउनुपर्दछ । यसको अर्थ फेरि आफूले लक्ष्य प्राप्त गर्न किन सकिरहेको छैन भन्दै चिन्तित हुने चाहिँ होइन । भलै स-साना कदम चालिरहनुभएको होला तर यस परिवर्तनले तपाईमा क्षमता छ भन्ने कुरा प्रष्ट्याउँछ ।

फाइनान्सियल एन्जाइटीलाई अन्त्य गर्नु रातोरात सम्भव पनि हुँदैन ।

नौलो प्रयोग गर्ने मौका : 

हामी अक्सर जे काम पनि ‘पर्फेक्ट’ होस् भन्ने चाहन्छौँ किनकी केही नयाँ गर्दा असफल हुने हो कि भन्ने डर सधै मनमा भइरहन्छ । तर, कतिपय अवस्थामा कुनै कामलाई गर्ने तरिका एउटै मात्र हुन्छ भन्ने छैन ।

सोचाइको आयामलाई फराकिलो बनाउने हो भने नयाँ बाटोहरु खुल्दै जान्छन् । हामीले आफैलाई रचनात्मक हुने, सिर्जनशील हुने अवसर दिनुपर्दछ ।

पैसा नहुनु पनि खुसीको खबर हो : 

सुन्दा अचम्म लाग्न सक्छ तर कहिलेकाहीँ पैसा नहुनु पनि राम्रो खबर हो । यस्तो परिस्थितिले हामीलाई सधै सोचिरहने भन्दा फरक तरिकाले सोच्ने अवसर दिनसक्छ । यस्ता समयले जीवनमा आइपर्ने कठिन समयलाई हामी कसरी सामना गरिरहेका हुन्छौँ, चुनौती आइपर्दा कसरी लचिलो बन्छौं भन्ने कुरा जान्न मद्दत गर्दछ ।

वित्तीय विपतबाट निस्कनै सक्दैनौँ भन्ने सोच भन्दा पनि यस्ता समस्याबाट कसरी निस्किने भनेर सोच्न जरुरी छ ।

यो प्रक्रियाले अघि बढ्दा हामीले आफ्नै बारेमा पनि धेरै कुराहरु पत्ता लगाउन सक्छौँ र यो पनि बुझ्न सक्छौँ कि व्यक्तिगत मामिलाले हाम्रो पैसा बचाउने तरिकालाई कसरी प्रभावित गरिरहेको हुन्छ ।

जादू होइन : 

अमान्डा भन्छिन्, ‘आर्थिक व्यवस्थापनलाई लिएर हामी जस्तो व्यवहार विकास गर्न चाहान्छौँ त्यो कुनै जादूको छडीले गरेजस्तो पटक्कै होइन ।’

हाम्रो अघि एउटा चुनौती छ भन्ने कुरा स्वीकारेपछि शुरु हुने प्रक्रिया हो यो । आफैलाई चिन्ने, बुझ्ने यो यात्रा निरन्तर अघि बढिरहन्छ ता कि बीचमा आइपर्ने सिग्नलले हामीलाई के भन्न खोजेको हो भनेर थाहा होस् र हामीले आफ्ना गलत बानीहरुलाई परिवर्तन गर्न सकौँ ।

यस प्रक्रियामा आफैलाई प्रश्न गरिरहनु फाइदाजनक हुन्छ । जस्तैः तपाईको कामको अर्थ के हो, तपाईका प्राथमिकताहरु केके हुन्, तपाईको लक्ष्यलाई के ले प्रभावित गर्दछ, कस्ता सम्बन्धहरुले तपाईको आर्थिक अवस्थामा प्रभाव पार्दछ, तपाई कस्ता कुराहरु परिवर्तन गर्न सक्नु हुन्छ र कस्ता कुरा सक्नु हुन्न ।

यदि तपाईको जागिर गयो भने ?

यस्तो अवस्थामा फाइनान्सियल थेरापिस्टहरु शान्तसँग बसेर आफ्नो अवस्थाका बारेमा विश्लेषण गर्नुपर्ने सल्लाह दिन्छन् ।

एउटा सही तरिका के पनि हो भने यस्तो अवस्था आइपर्दा शुरुमै त्यस्ता व्यक्तिहरुलाई जानकारी गराइहाल्नुपर्छ जोसँग आफ्नो आर्थिक लेनदेन वा कारोबार हुने गरेको छ । उदाहरणका लागि, घरबेटी । घरबेटीसँग यस बारेमा कुरा गरेर भाडा दिन केही समय लाग्ने जानकारी गराइहाल्नु पर्दछ ।

यदि आफूले केही रकम बचत गरेको छ भने त्यसले कति दिनसम्म आफ्नो गुजारा चल्छ भनेर योजना बनाउने । यसो गर्दा वैकल्पिक तरिकाबाट कसरी पैसा मिल्न सक्छ भन्ने कुराको आइडिया पनि आउन सक्छ ।

आफ्नो नियमित खर्च पनि कटौती गर्ने । यसो गर्दाखेरि भलै आफ्नो सबै खर्च धान्न मुस्किल नै पर्छ तर, कम्तीमा ऋण र ब्याजबाट त बच्न सकिन्छ ।

यी सबैको माध्यमबाट हामी यो कुरा पत्ता लगाउन सक्छौँ कि कुन कुरामा हाम्रो नियन्त्रण रहन्छ र कुनमा रहँदैन । आफ्नो लक्ष्यतर्फ बढ्न यसले झनै अभिप्रेरित गर्नेछ ।

यसका अलावा अनावश्यक खर्च गर्ने बानी हटाएर बचत गर्ने बानी बसायो भनेपनि यस्तो विषम् परिस्थितिमा तपाईलाई सहज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?