‘मुलुकलाई सङ्कटबाट बचाउन प्रतिनिधिसभा पुनस्थापना हुनैपर्छ ‘

RSS
0
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ ले आज भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गरे ।

वरिष्ठ नेता पौडेलले भने, “सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।” मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनस्थापना हुनैपर्ने उनको जिकिर थियो ।

नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो । “संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ”, उनले भने, “संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।”

सो अवसरमा काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसमा केही कमजोरी रहे पनि दवावपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्ने बताए । प्रतिनिधिसभा विघटनको विरोध गर्दै काङ्ग्रेस तनहुँले आज सोमवार दुई निर्वाचन क्षेत्रमा विरोधसभा गरेको थियो । तनहुँ – १ को दमौली र २ को भीमादमा भएको सभालाई वरिष्ठ नेता पौडेलले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?