आठ घण्टाभन्दा कम सुते सताउँछन् यी रोगले !

काठमाडौं । दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको न्यूयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो ।

विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ । आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् । सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ ।

अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताए । अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?