प्रदेश १ को हिउँदे अधिवेशन साविक हलमै हुने

RSS
0
Shares

काठमाडौं । प्रदेश नं १ को हिउँदे तथा सातौँ अधिवेशन साविककै हलमा सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । जिल्ला समन्वय समिति मोरङको सो सभा हल विगतमा जिल्ला विकास समितिले प्रयोग गर्ने हल थियो भने प्रदेशसभा गठन भइसकेपछि सो भवनमा प्रदेशसभा सचिवालय स्थापना भएको हो ।

विगतमा गाविस एवम् नगरपालिकाका प्रमुखसहित जिल्ला परिषद् सञ्चालनका लागि बनाइएको सो हलमा प्रदेशसभाको सभा सञ्चालन गर्दा निकै समस्या बेहोरिरहेको सचिवालय नयाँ भवन निर्माणमा जुटेको छ । पहिलो प्रदेशसभाको बैठकदेखि छैटौँ प्रदेशसभाको बैठक सम्पन्न गरिएको सो हलमा सातौँ अर्थात हिउँदे अधिवेशन नयाँ हलमा सञ्चालन गर्ने गरी नयाँ भवनको गएको असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गरेका थिए ।

अहिले सो हलको निर्माणको काम ७० प्रतिशत सम्पन्न भइसकेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । सातौँ अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न स्वामीनारायण निर्माण सेवा प्रालि धरानले दुई करोड ५१ लाख ८१ हजार ९७६ मा ठेक्कामा लिएको छ । निर्माण कम्पनीले आगामी फागुन मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने सो भवन जिल्ला समन्वय समितिको परिसरभित्र निर्माण भइरहेको छ । हल करिब ३०० मानिस अट्ने क्षमता भएको सुविधा सम्पन्न हुने भनिएको छ ।

सभामुख भण्डारीले विगतमा अनेक बाधा अड्चनका बाबजुद पनि सञ्चालन भएको सभा अब नयाँ भवनमा सहज एवम सरल हुने बताएका थिए भने वर्तमान राजनीतिक घटनााक्रमले प्रदेशको राजनीतिमा आएको उतारचढावले गर्दा सातौँ तथा हिउँदे अधिवेशन माघ ७ गते हुने प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट आह्वान भइसकेकोले तत्काल साविककै हलमा सभा सञ्चालन हुने अवस्था देखिएको छ ।

सभामुखले नवनिर्माण हुने भवन समयमै निर्माण गर्न र गुणस्तरीयमा विशेष ध्यान दिएको बताए । अन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले पहिलो निर्माण गर्न लागेको यो पहिलो संरचना हो भने । मन्त्री कार्कीले नीति निर्माण गर्ने सार्वभौम थलोका रूपमा रहेको प्रदेशसभाको हल निर्माण भएपछि सभा सञ्चालन गर्न सहज हुने बताए । उनले भवनको गुणस्तरमा कुनै कमी हुन नदिन निर्माण कम्पनीलाई खबरदारी गर्दै आगामी दिनमा सभा सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नयाँ भवनले प्रदेशसभाको सभा सञ्चालन गर्न निकै सुविधा हुने भन्दै भवन निर्धारित समयमै निर्माण हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यो भवनले प्रदेशसभामा सहभागी हुने सांसदलाई सहज हुने भन्दै भवनको गुणस्तरमा सबै ध्यान दिनुपर्ने बताए ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले ढिलो भए पनि बन्न लागेको यो भवनले संसद्मा छलफल एवम् नीति निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशप्रसाद पोखरेलले जिल्ला समन्वय समितिको एक बिघा तीन कठ्ठा क्षेत्रफलभित्र बन्न लागेको सो भवनले संसद् सञ्चालन गर्न सुविधा हुने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले साविक जिल्ला विकास समितिको सभा हलमा प्रदेशसभा सञ्चालन गर्न निकै कठिनाइ भइरहेको अवस्थामा नयाँ भवन सहज हुने विश्वास व्यक्त गर्दै निर्माण कम्पनीले भवनलाई निर्धारित समयमै सम्पन्न गर्न निरन्तर अनुगमन एवं उच्चतम प्रयास गरिरहेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?