अमिताभ बच्चनले एक महिलासँग किन माग्नुपर्‍यो माफी ?

भारतीय फिल्म उद्योगका महानायक कहलिएका अमिताभ बच्चनले आफ्नो सामाजिक सञ्जालमार्फत् एक महिलासँग माफी मागेका छन् । अमिताभले आफ्नो ट्वीटर तथा फेसबुक ह्यान्डलबाट टिशा अग्रवाल नामकी एक महिलासँग माफी मागेका हुन् ।

टिशाको अग्रवालको कवितामा उनको नाम उल्लेख नगरी ट्वीट गरेकोमा अमिताभले माफी माग्नु परेको हो ।

केही दिनअघि अमिताभले आफ्नो ट्वीटरमा एउटा कविता ट्वटि गरेका थिए । पछि टिशा अग्रवालले सो कविता आफ्नो भएको र अमिताभले त्यसमा आफ्नो नाम उल्लेख नगरेको गुनासो गरेपछि उनी रातोरात चर्चित बनिन् । सामाजिक सञ्जालमा अमिताभको खुब आलोचना भयो ।

खासमा कुनै अरु सेलिब्रेटीले यसो गरेको भए खासै आलोचना नहुन सक्थ्यो तर, अमिताभले यसअघि कपीराइटको विषयमा अरुलाई दुख दिएकाले उनले यसो गर्नु ‘दोहोरो चरित्रको प्रदर्शन गर्नु हो’ भन्दै सामाजिक सञ्जालमा उनी आलोचित बनेका छन् ।

यसो हुनुमा अमिताभले यसअघि आफ्ना पिताका कवितालाई लिएर अरुसँग गरेको व्यवहार पनि मूख्य कारण थियो ।

एक समारोहमा कुमार विश्वास नामक एक कविले अमिताभका पिता हरिवंश राय बच्चनप्रति श्रद्धाभाव अपर्ण गर्दै उनको कविताका केही पङ्क्ति वाचन गरेका थिए । अमिताभले उनलाई कपीराइट उल्लंघन गरेको भन्दै नोटिस नै पठाए ।

यस्तो घटना धेरैपटक भइसकेकाले अमिताभले अरुको कविता क्रेडिट नदिइ लेख्दा उनको चर्को निन्दा भएको हो ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?