तीव्र गतिमा फैलिँदै कोरोनाको नयाँ स्ट्रेन, यी २ कारणले गर्दा विश्व सशंकित

काठमाडौं । एक वर्ष लामो समय फैलिँदासमेत कोभिड १९ को आतंकबाट विश्व बौरिन पाएको छैन । यही विवशताका बीच विश्वमा फेरि कोरोना भाइरसको नयाँ स्ट्रेन पत्ता लागेको छ । स्ट्रेन अर्थात् कुनै जीवाणुको उपप्रकार वा जिनेटिक भेरियेन्ट । उदाहरणका लागि, ‘फ्लु स्ट्रेन’ भनेको इन्फ्लुएन्जा वा फ्लु भाइरसको नौलो जैविक रुप भनेजस्तै कोभिड १९ को नयाँ स्ट्रेनले यसको नौलो जैविक रुपलाई जनाउँछ ।

पूर्व र दक्षिण बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति द्रूत गतिमा फैलिनाले वैज्ञानिकहरु यस विषयमा सशंकित भएका छन् ।

नयाँ स्ट्रेनकै कारण बेलायतमा यसपालि क्रिसमस मनाइएन । र, नयाँ स्ट्रेनकै जोखिमले गर्दा विश्वका ५० भन्दा बढी देशहरुले बेलायतसँगको हवाइ उडानमा रोक लगाएका छन् । यहाँसम्म कि बेलायत ट्रान्जिट भएर हुने उडानमा समेत रोक लगाइएको छ ।

छिमेकी फ्रान्सले सीमा बन्द गरेकाले झण्डै तीन हजार लरी (ट्रक) सीमामा रोकिएका थिए । खाद्यान्नकै हाहाकार हुने अवस्था भएपछि बेलायत र फ्रान्सेली अधिकारीहरुबीचको वार्तापश्चात् बल्ल फ्रान्सले बुधबारदेखि कोभिड नेगेटिभ रिपोर्ट हुनेलाई प्रवेश अनुमति दिने भएको हो ।

अझ चिन्ताको विषय के छ भने, यो नयाँ स्ट्रेन बेलायत हुँदै अहिले ८ वटा यूरोपियन मुलुक र अन्यमा पनि देखिएको विश्व स्वास्थ्य संगठन बताउँछ ।

कोभिड १९ सँग जुध्दै विस्तारै सामान्य अवस्थामा फर्किरहेको विश्व अहिले फेरि अन्यौलतामा अल्झिएको छ । विश्व सशंकित हुनुको एउटा कारण भनेको यतिका समयसम्म पनि कोरोना भाइरसको खोप जनस्तरसम्म नपुग्नु हो । भलै केही विकसित देशहरुले व्यापक खोप कार्यक्रम आयोजना गरेर जनस्तरसम्म खोपको पहुँच पुगेको छ तर अझै पनि पाउने जनसङ्ख्याको अनुपातमा नपाउनेको सङ्ख्या कहाँ हो कहाँ बढी छ ।

अर्को कारण भनेको चाहिँ फेरि भयावह स्थिति भएर लकडाउन हुने हो कि भनेर चिन्तित छन् मानिसहरु । बेलायतमा लकडाउनकै परिस्थिति ल्याइसकेको यस स्ट्रेनले अन्य देशमा नल्याउला भन्न सकिन्न । यदि त्यसो भयो भने लकडाउनका कारण रोजगारी गुमेर, पैसा सकिएर, अर्थतन्त्र डामाडोल भएर थलिएका जनताको हविगत के होला ?

कहाँबाट आयो नयाँ स्ट्रेन ?

अक्टोबरतिरै यस स्ट्रेनका बारेमा पत्ता लागेको भएतापनि मध्य डिसेम्बरसम्म यो खासै वैज्ञानिकहरुको ध्यानमा आएन । डिसेम्बरमा दक्षिण र पूर्वी बेलायतमा यसको संक्रमण तीव्र रुपमा फैलिएको थाहा पाएपछि भने यसप्रति ध्यानाकर्षण भएको छ ।

यसलाई बि.१.१.७(B.1.1.7) को अस्थायी नाम दिइएको छ ।

मध्य डिसेम्बरसम्ममा बेलायतमा १ हजार १ सय ८ जना यस स्ट्रेनबाट संक्रमित भएको पाइएको छ । जसमध्ये धेरैजसो दक्षिण र पूर्वी बेलायतका रहेका छन् ।

महामारी शुरु भइसकेपछि पत्ता लागेका सार्स–कोभ–२ का अन्य भेरियेन्ट भन्दा यसमा धेरै म्युटेसन भएको पाइएको छ । जिनेटिक कोडका २३ वटा अक्षरहरु परिवर्तन भएका छन् जसमध्ये १७ वटाले भाइरसमा परिवर्तन ल्याउन सक्छ । कोभिड १९ लाई मानव शरीरमा प्रवेश गराउने ‘स्पाइक प्रोटिन’मा पनि यो परिवर्तन भएको पाइएको छ ।

यद्यपि, नयाँ स्ट्रेन बेलायतमै उत्पति भएको हो कि बाहिरबाट भित्रिएको हो भन्ने कुराको पुष्टि भने भइसकेको छैन ।

कति खतरनाक छ ? कुन गतिमा फैलिरहेको छ ?

लन्डन र दक्षिण–पूर्वी बेलायतमा यो तीव्र गतिमा फैलिएको छ । नोभेम्बरको शुरुवाततिर २८ प्रतिशत संक्रमितहरु यसका कारण हुने गर्थे भने नोभेम्बरको अन्तिमतिर ६३ प्रतिशत पुगे ।

बेलायतमा फैलिरहेका अन्य सार्स कोभ २ का भेरियेन्टको तुलनामा यसको संक्रमण ५० देखि ७० प्रतिशत बढी हुने विज्ञको अनुमान छ ।
पब्लिक हेल्थ इंगल्याण्ड (पिएचइ) का अनुसार अन्य स्ट्रेनको तुलनामा नयाँ स्ट्रेन छिटो सर्दछ । यद्यपि, यसको संक्रमणले गम्भीर स्वास्थ्य समस्या पु¥याउने अथवा मृत्यु हुने सम्भावना न्यून रहेको कुरामा पनि पिएचइले जोड दिएको छ ।

यस स्ट्रेनको संक्रमण शक्तिका बारेमा प्रयोगशालामा जारी कुनै पनि अनुसन्धान पूरा भने भइसकेको छैन ।

बेलायतका अतिरिक्त यो स्ट्रेन डेनमार्क, अस्ट्रेलिया, इटली, नेदरल्यान्ड आदि देशमा पनि देखापरेको छ ।

कस्ता लक्षण देखापर्छन् ?

कोभिड १९ को ३ मूख्य लक्षणहरुः ज्वरो, सुख्खा खोकी र स्वाद तथा वास्ना थाहा नहुनेका अतिरिक्त ७ वटा लक्षणहरु कोरोना भाइरसको नयाँ स्ट्रेनबाट संक्रमित हुँदा देखापर्ने गरेको छः

थकान

भोक नलाग्ने

टाउको दुख्ने

पखाला

मानसिक अन्यौलता

मांसपेशीको दुखाई

हालै निर्माण गरिएका कोरोना विरुद्धका खोपहरुले काम गर्छ त ?

कोरोना भाइरसको नयाँ स्ट्रेन पत्ता लाग्नासाथ धेरैको मस्तिष्कमा आएको एउटा जिज्ञासा के हो भने जोडतोडले निर्माण भइरहेका कोरोना विरुद्धका खोपहरुले के नयाँ स्ट्रेन विरुद्ध पनि काम गर्न सक्छन् त ?

हालै जर्मनको फार्मा कम्पनी बायोएनटेकले आफ्नो कोरोनाविरुद्धको भ्याक्सिन नयाँ स्ट्रेनको कोरोना भाइरसमा पनि सफल हुने विश्वास रहेको बताएको छ । भलै त्यसका लागि प्रयोगशालाका केही प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ जसको लागि २ हप्तासम्मको समय लाग्न सक्छ ।

एक किसिमको परीक्षणमा चाहिँ शुरुमा कल्चर गरिएका मानव कोषलाई कोरोना भाइरसबाट संक्रमित गराएर त्यसलाई कोरोनाको खोप लगाएका व्यक्तिहरुमा भएको एन्टीबडीसँग सामना गराउनुपर्दछ । त्यसपछि वैज्ञानिकहरुले सो एन्टीबडीले विभिन्न प्रकारका भेरियेन्टहरुमा कसरी प्रतिक्रिया गरिरहेको छ भनेर तुलनात्मक अध्ययन गर्दछन् ।

यता, फाइजर भ्याक्सिनले पनि नयाँ स्ट्रेनको कोरोना भाइरसबाट जोगाउन सक्दैन भनेर कुनै प्रमाण भेटिइसकेको अवस्था छैन ।

सामान्तया जति पनि खोप बनेका छन् वा अन्तिम परीक्षणमा छन् तिनले नयाँ स्ट्रेनमा पनि काम गर्ने सम्भावना रहेको तर तत्काल यकिनका साथ भन्न नसक्ने विज्ञहरु बताउँछन् । वैज्ञानिकहरु यसमा काम गरिरहेका छन् र यसको नतिजा आउन अझै ३–४ हप्ता लाग्न सक्छ । भ्याक्सिन बनाउने विज्ञहरु यो स्ट्रेनमा पनि काम गर्नेमा धेरै आशावादी रहेका छन् ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?