२०७७, १२ पुष आईतवार १९:०५

माइतीघरबाट उखु किसानको प्रश्न- ‘सरकार तिमी कहाँ छौ ?’ (भिडियो)


प्रकाशित मिति : २०७७, १२ पुष आईतवार १९:०५

काठमाडौँ– हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिनदेखि उखु किसानहरु आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् ।

विगत सात वर्ष देखिको भुक्तानी मिल सञ्चालकहरुले नदिएपछि किसानहरु निर्णयक आन्दोलन गर्न भन्दै काठमाडौं आएका हुन् । गत वर्ष पनि उनीहरुले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिना भित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए ।

तर एक वर्ष सम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरि काठमाडौं आई आन्दोलन गरिरहेका छन् । १५ दिन सम्म आन्दोलन गर्दापनि सरकार नसुनेझैं गरी बसिरहेको छ । किसानहरु आन्दोलन गरेको देखेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन् । तर सरकारले तोकेको मूल्य भन्दा पनि कम दरमा भुक्तानी पठाएको किसानहरुको गुनासो छ ।

उखु किसान संघर्ष समितिका सदस्य मायासंकर प्रसाद यादवले सरकारले प्रति क्वीन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भएपनि उद्योगीहरुले ४ सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गर्नुभयो । सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदा सम्म आन्दोलन जारी राख्ने पनि उनले बताए ।

चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । विगत सात वर्ष देखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागि किसानहरुले बताएका छन् । आफूहरुले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदा सम्म आन्दोलनलाई जारी राख्ने किसानहरुले बताए ।

आन्दोलनरत किसानहरुले ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौं’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देउ’ लगायतका नारा समेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस