पदभार सम्हाल्दै कुन मन्त्रीले के भने ? (भिडियो)

काठमाडौँ–  शुक्रवार नियुक्त भएका केही मन्त्रीहरूले आज (आइतवार) मन्त्रालयको कार्यभार ग्रहण गरेका छन्।

नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
आइतवार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले देशभरी ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

कार्यभार सम्हाल्दै मन्त्री थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताए । उनले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताए ।

यस्तै नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताएका छन् । कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताएका हुन् । आफूले सकेसम्म सेवामा समर्पित गर्दै सुनाम कमाउने मात्रै उद्देश्य राखेको मन्त्री ढकालले बताए।

त्यस्तै नवनियुक्त शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताएका छन्। आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको बताएका हुन्।

शहरी विकास मन्त्रालयले पनि निर्वाचन केन्द्रीत काम गर्ने बताए । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडि बढाउने बताए । सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रीत हुने मन्त्री साहको भनाई छ।

प्रस्तुत छ, मन्त्रीहरूको प्रतिबद्धता समेटेर तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?