केन्द्रको असर प्रदेश १ मा पनि सर्‍यो, मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव तयार, मन्त्री बर्खास्त

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीभित्रको विभाजनको असर प्रदेश १ मा पनि परेको छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्वोलाई बर्खास्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सरकारकै जिम्मेवार मन्त्री सक्रिय भएको आरोप लगाउँदै मुख्यमन्त्री राईले उनलाई बर्खास्त गरेका हुन् ।

प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चा चल्दै गर्दा मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्वोलाई बर्खास्त गरेका हुन् ।संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्री राई ओली समूहका हुन् । भोलि प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ । नेकपाको बहुमत रहेको उक्त प्रदेशमा विभाजनपछि राई अल्पमतमा परेका छन् । त्यहाँ प्रचण्ड र माधव नेपालको बढी सांसद छन् । राईको ठाउँमा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको छ ।

यस अघि शुक्रवार बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । केन्द्रमा प्रधानमन्त्री ओलीको एउटा समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको अर्को समूह बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?