ओडारमा बसीरहेकी प्रेम कुमारीलाई स्थानीय सरकारले बनाइदियो घर, दंग परिन् माझी !

काठमाडौं । ओखलढुंगाको मानेभज्याङ गाउँपालिकाले ओडारमा ओडारमा बस्न एक महिलालाई घर निर्माण गरिदिएको छ । गाउँपालिकाको वडा नम्बर ७ मा ढुंगाको ओडारभित्र बस्दै आएकी स्थानीय प्रेम कुमारी माझीलाई घर निर्माण गरी हस्तान्तरण गरेको हो ।

ती महिला ओडारभित्र बस्दै आएको जानकारीपछि गत आर्थिक वर्षमा बजेट नै छुट्याएर घर निर्माण गरिदिएको गाउँपालिकाका उपाध्यक्ष सबिता राईले बताइन् ।

स्थानीय सामाजिक परिचालिका डम्बर कुमारी गौतमले उनको अवस्थाबारे गाउँपालिकालाई खबर गरेकी थिइन् । त्यसलगत्तै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सहितको टोली खाद्यन्न सहित उनलाई भेट्न पुगेका हुन् । भेटमा ती महिलाले गरिबीका कारण आफू ओडारमा बस्नु परेको गुनासो गरेपछि गाउँपालिकाले घर निर्माण गरिदिने निर्णय गरेको थियो ।

ती महिला करिब चार वर्षदेखि ओडारमा बस्दै आएकी थिइन् । उनलाई गत आर्थिक वर्षमा गाउँपालिकाले रु २ लाख रुपैयाँ बजेट विनियोजन गरेर घर निर्माण गरिदिएकोे हो । उक्त घर यसअघि नै निमार्ण भैसक्नुपर्ने भएपनि कोरोना भाइरसका कारण ढिलाइ भएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?