काठमाडौं । नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदशर्न गरेका छन् ।
प्रदर्शनमा सहभागिहरुले शंख बजाएर विरोध गरेका छन् । ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानर सहित सहभागिहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन् ।

नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नु परेको वृहत नागरिक आन्दोलनमा सहभागि अधिकारकर्मीहरुले बताएका छन् । सरकारले संसद विघटन गरेर देशलाई प्रतिगमन तर्फ लगेको भन्दै सरकारको यो कदम संसद विघटन मात्रै नभई संविधान माथिकै आक्रमण भएको उनीहरुको भनाई छ ।

प्रदर्शनमा सहभागि नागरिक अधिकारकर्मीहरुले संविधान भित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संविधान माथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यु तपाईं नी ?’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधान माथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए ।

बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरुले पुस १८ गते सम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया