पारदर्शी सूचना दिन आवश्यक छ: आयुक्त गुरुङ

RSS
0
Shares

बनेपा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले नागरिकमैत्री नगर बनाउनका लागि सूचना पारदर्शी गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना तथा नमोबुद्ध नगरपालिकाको समन्वयमा शुक्रबार काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीमा आयोजना गरिएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, समुदाय र समूहका लागि ‘सूचनाको हकसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले नागरिकले मागेको सूचना उपलब्ध गराउनु नगरको दायित्व भएको बताए ।

सूचना मागेको कारणबाट नभई पारदर्शिता होस् भन्ने हिसाबबाट पनि कहिलेकाहीँ राष्ट्रिय सूचना आयोगले आदेशसमेत गर्ने गरेको उनको भनाइ छ । “सूचना दिएर बिग्रने होइन, मागेपछि दिनुपर्छ”, उनले भने, “सूचना दिनु भनेको हामीले गरेको काम नागरिकले परीक्षण गर्ने अवस्था सिर्जना गर्नु हो, त्यो अवसर नागरिकलाई दिनुपर्छ ।”

नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद तिमल्सिनाले नगरपालिकामा जो कोहीले सूचना माग्न आए पनि आधा घण्टाभित्रमा अवस्थाअनुसार सूचनाको उपलब्धतालाई छिटो र सहज बनाउन सूचना अधिकारीलाई निर्देशन दिएको बताए । सो क्रममा उनले आगामी दिनमा सूचनाको हकसम्बन्धी कार्यक्रम सञ्चालन गर्न नीति तथा कार्यक्रममा बजेटको व्यवस्थासमेत गर्ने प्रतिबद्धता व्यक्त गरे । आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले नागरिकलाई आफूले तिरेको कर कहाँ कसरी खर्च भयो भन्ने जानकारी पाउने अधिकार भएकाले सूचनाको हकलाई सुनिश्चित गर्न आग्रह गरे । सूचनाको हकसम्बन्धी व्यवस्थाले सरकारलाई पारदर्शी र उत्तरदायी बनाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?