काठमाडौँ । साहित्यकार कौशिला रिसालको कविता सङ्ग्रह ‘समय र सपना’ सार्वजनिक भएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती , उपकुलपति डा.जगमान गुरुङ, प्राध्यापक डा.हेमनाथ पौडेल (कविता विभाग प्रमुख) प्राध्यापक डा.देवी नेपाल (बाल साहित्य विभाग प्रमुख) प्राज्ञ परिषद् सदस्य लक्ष्मी माली, डा.यज्ञश्वर निरौला, लगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।
कुलपति उप्रेतीको कार्यकक्षमा भएको लोकार्पण कार्यक्रममा कवि प्रथाले सृजनाले समय बोधलाई समेटेको हुनुपर्ने बताउँदै रिसालका कविताले वर्तमानको विचार बोकेको धारणा राखे । उनले कविता सङ्ग्रह ‘समय र सपना’ ले वर्तमान परिस्थिति र समाज रूपान्तरणको वकालत गरेको तथा विचारको प्रक्षेपण गरेको बताए ।
कविता संग्रहको समीक्षा गर्दै वरिष्ठ साहित्यकार डा.घनश्याम न्यौपाने परिश्रमीले ‘समय र सपना ’ भित्रका कविता प्रगतिशिल चिन्तनमा आधारित रहेर लेखिएको बताए । भाव र कलाको मञ्जुल मिश्रण नै कविता भएको बताउँदै उनले रिसालका कविताले मिठा भावमा विचार प्रवाह गरेको धारणा राखे । समसामयिक परिस्थितिमा महत्वपूर्ण विचार सहितका चेतनाका साथ कविता लेखिएको डा.परिश्रमीले बताए ।
कविता सङ्ग्रह लोकार्पण गर्दै प्रमुख अतिथी कुलपति उप्रेतिले कविता विचार र कलाको मिश्रण हुनुपर्ने धारणा राख्दै रिसालका कविता ऊर्जापूर्ण रहेको बताए । ‘समय र सपना’ भित्रका कविताले राजनीति, सामाजिक परिस्थितिदेखि सीमान्त्कृत वर्गका विषयसम्म उजागर गरेको उनले बताए । साहित्यमा विचार हुनुपर्ने र विचारसहितको विषयले मात्रै समाज रूपान्तरण गर्न सक्ने कुलपति उप्रेतीको भनाइ थियो ।
पुस्तक लोकार्पणपछि कवि रिसालले आफू हुर्केको समय, परिवेश र परिस्थितिलाई मनन गरेर कविता लेख्ने गरेको बताए । समाजका तत्कालीन परिस्थिति, राजनीतिक, सामाजिक विषयवस्तु नै आफ्नो लेखनीको स्रोत भएको रिसालको भनाइ थियो । कार्यक्रममा साहित्यकार सुगिता शाहले पुस्तकभित्रका कविता वाचन गरेर सुनाएकी थिइन् ।
साहित्यकार रिसालको यो पाँचौँ कृति हो । यसअघि उहाँका ३ ओटा बालकथा सङ्ग्रह र ‘एउटा साहस’ नामक (नर्वदा खनाल) संस्मरणात्मक पुस्तक प्रकाशित भैसकेका छन् । कार्यक्रमको अध्यक्षता साहित्यकार नारायण शर्माले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया