केन्द्रीय सदस्यहरूको धारणा नसकिंदै किन स्थगन गरियो कांग्रेसको बैठक ?

काठमाडौँ- मंगलवारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित भएको छ । केन्द्रीय सदस्यको धारणा राख्ने क्रमलाई रोकेरै बैठक स्थगित गरेको छ ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राखेका थिए । यसअघिको बैठकमा ११ जना नेताले आ आफ्नो धारणा राखेका थिए ।

आजको बैठकले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा संसद विघटनका विरुद्धमा हुने प्रदर्शनमा सम्पूर्ण रुपले केन्द्रीत रहने निर्णय गरेको छ । काँग्रेसमा संसद विघटनविरुद्धको रणनीति बनाउँदा अदालतको फैसला कुर्ने वा पहिले शसक्त रुपमा आन्दोलनमै जुट्ने भन्नेमा मत विभाजित छ । सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्नुपर्ने पक्षमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्दोलनलाई जोड दिरहेको छ ।

कार्यसमितिको बैठक अब पुस १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?