धेरैजसो मानिसका लागि पर्स हराउनु भनेको एउटा असुविधा मात्र होइन ठूलो समस्या नै हो ।
अहिलेको समयमा हाम्रो पर्समा कार्ड, प्रमाण पत्र र अन्य महत्त्वपूर्ण कागजपत्रहरु हुन्छन् । यस्तो अवस्थामा पर्स हराउनु भनेको एक किसिमको विपत्ति नै हो । पुरानो कार्डलाई रद्द गर्नु, नयाँ कार्ड झिकाउनु निकै झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
तर, संसारमा एउटा यस्तो शहर पनि छ जहाँ तपाई आफ्नो पर्स हराएपनि बेफिक्री हुन सक्नुहुन्छ । र त्यो शहर हो, टोक्यो ।
जापानको राजधानी टोक्योमा करिब डेढ करोड मानिस बस्छन् । यहाँ हरेक वर्ष लाखौं सामानहरु हराउँछन् । तर, प्राय सामान आफ्नै मालिकसम्म पुग्छन् ।
जापानका पुलिस
सन् २०१८ मा जापानी पुलिसले ५ लाख ४५ हजार भन्दा बढी मानिसलाई उनीहरुको हराएको परिचय पत्र फिर्ता गरेको थियो । त्यस्तै, हराएका मोबाइल फोनमध्ये ८३ प्रतिशत अर्थात् १ लाख ३० हजार फोन पछि आफ्नै मालिकसम्म फिर्ता पुगेका थिए ।
यति मात्र होइन हराएका पर्समध्ये ६५ प्रतिशत अर्थात् २ लाख ४० हजारभन्दा बढी पर्स पनि उनीहरुकै मालिकलाई फर्काइएको थियो ।
प्राय सामान त्यही दिन फर्काइयो जुन दिन ती हराएका थिए ।
अमेरिका निवासी काजुको बेहरेन्सको खास घर जापान हो । उनी एउटा किस्सा सम्झिन्छिन् । जब उनी अमेरिकाको सान फ्रेन्सिस्को शहरमा बस्थिन् त्यसवेला शहरको चाइनाटाउनमा एकजनाको पर्स हरायो । जसले त्यो पर्स भेट्टाए उसले ती व्यक्तिलाई पर्स फर्काइदिए । पर्स फर्काउने ती व्यक्तिलाई सबैले इमान्दार भन्दै खुब तारिफ गरे । स्थानीय टिभी च्यानलमा उसको अन्तर्वार्ता लिने होडबाजी नै मच्चियो ।
तर, काजुको भन्छिन्, ‘जापानमा यस्तो हुने हो भने त्यसलाई सामान्य रुपमा लिइन्छ । जसले सामान भेट्यो उसले फर्काउनैपर्छ भन्ने मान्यता छ । बरु त्यहाँ त सामान भेटेर नफर्काउनु चाहिँ अचम्मको कुरा हो ।’
जापानमा त्यसरी सामान फर्काउनेलाई कुनै इनाम दिइन्छ वा उसको वाहवाही गरिन्छ भन्ने सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ ।
सन् २०१८ मा जुन १ लाख ५६ हजार मोबाइल फोन फर्काइएको थियो तीमध्ये १७ प्रतिशत फोन विभिन्न कारणले तिनका मालिकसम्म पुगेनन् । तर, न त्यो फोन भेट्ने मान्छेलाई नै दिइयो न त सरकारले नै राख्यो । बरु सबै फोन नष्ट गरियो ।
जापानमा निकै कम दूरीमा पुलिस थाना छन् । लण्डनमा हरेक १०० वर्ग किमीको दूरीमा ११ वटा पुलिस थाना छन् जसलाई कोबान भनिन्छ । जापानमा यही दूरीमा ९७ वटा पुलिस थाना छन् ।
पुलिसकै लागि कमिक सिरिज बनाइएको…
जापानका पुलिसहरु एकदमै फरासिला हुन्छन् । उनीहरु नराम्रो काम गर्नेको सेखी झार्छन् भने आवश्यकतामा परेकालाई मद्दत गर्छन् । ज्येष्ठ नागरिकलाई पनि खुब सम्मान गर्छन् । पुलिसवालाहरु अक्सर जनताको घरमै फोन गरेर उनीहरुको हालखबर सोध्ने गर्छन् ।
जापानका पुलिस यतिसम्म लोकप्रिय छन् कि उनीहरुमा आधारित ‘कोचिकामे’ नामक एउटा कमिक सिरिज नै बनाइएको थियो । त्यसको श्रङ्खला करिब ४० वर्षसम्म छापिएको थियो ।
जापानका वकिल बताउँछन् कि त्यहाँका जनतालाई बच्चैदेखि कुनै चीज भेटेपछि पुलिसलाई सुम्पिन सिकाइन्छ । त्यसैले कुनै बच्चाले १० पैसाकै सिक्का भेटे पनि त्यसलाई नजिकैको पुलिस चौकीमा बुझाउन जान्छन् ।
पुलिसले त्यस सिक्काको बकाइदा रेकर्ड राख्छन् । त्यसपछि सिक्का भेट्ने बच्चालाई नै फिर्ता गरिदिन्छन् ।
यहीकारणले गर्दा नै हराएका मोबाइल फोनमध्ये ८६ प्रतिशत फोन भेटिन्छन् जापानमा । त्यस्तै अमेरिकाको न्यू योर्कमा भने हराएकामध्ये ८ प्रतिशत फोन मात्रै भेटिने गरेको तथ्याङ्क छ ।
न्यू योर्कमा हराएका पर्समध्ये १० प्रतिशतमात्रै आफ्नो मालिकसम्म पुग्छन् । यता जापानमा त्यसको सङ्ख्या ८० प्रतिशत छ ।
कसैले देखेको त छैन ?
काजुको बताउँछिन् कि जापानमा बौद्ध र शिंतो धर्मको निकै प्रभाव छ । जसमा जन्म र मृत्युलाई लिएर धेरै श्रद्धा र विश्वासहरु छन् । यही धार्मिक विश्वासका कारण पनि जापानमा चोरेको सामान फर्काइन्छ भन्ने मान्यता छ ।
जापानीहरुको यो इमान्दारिताका पछाडि त्यहाँको पुलिस प्रशासनको पनि भूमिका रहेको बताइन्छ ।
पुलिसको बाक्लो उपस्थिति र वरिपरि कसैले देख्छ भन्ने डरले पनि भेटेको सामान फर्काइहाल्ने गर्छन् त्यहाँका मानिस ।
शिंतो धर्मको मान्यताअनुसार हरेक वस्तुमा आत्मा हुन्छ । जसअनुसार कहीँ न कहीँबाट कसै न कसैले देखिरहेको हुन्छ । त्यसैले प्राय भेटेका सामानहरु फर्काउँछन् जापानीहरु ।
अमेरिकाको मिशिगन विश्वविद्यालयका प्रोफेसर मार्क डी वेस्ट भन्छन्, जापानका मानिसहरु हराएका सामान फर्काइदिन्छन् र यसको मूख्य कारण उनीहरुको इमान्दारिता भन्दा पनि कानून र यहाँको व्यवस्था हो । सामाजिक मान्यता हो ।
पाइलापाइलामा पुलिस थानाको उपस्थिति र सांस्कृतिक परम्पराहरुको कारणले गर्दा जापानीहरु आफू भन्दा अघि अरुको बारेमा सोच्छन् ।
(एजन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया