एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज हुँदै, आज अन्तिम समझौता पत्रमा हस्ताक्षर

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकाबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम समझौतापत्रमा आज एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ ।

मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन ।

गत साउन ३२ गते दुई संस्थाबीच गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भएको थियो । भने आज (शुक्रवार) गते गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तिम समझौता भएको हो ।

उक्त सम्झौतामा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष श्री लालमणी जोेशीले हस्ताक्षर गरेका छन् ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या १९३ शाखा हुनेछ ।

गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित विश्वास कम्पनीले लिएको छ ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?