संसद विघटन तानाशाहीको नांगो रुप हो : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद भंग गरिनु तानाशाहीको नांगो रुप भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बबरमहलस्थित कार्की ब्यांकेटमा नेकपा प्रचण्ड-माधव नेपाल समूहले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । संसद बैठक बोलाउनुपर्ने बेलामा संसद नै भंग गर्ने सरकारको कदम निर्मम, निरंकुश र तानाशाहीको नांगो रुप भएको बताए ।

“सदन भित्रबाट विकल्प रहँदासम्म सदन भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई हुनेछैन । सदनको विकल्पको खोजी नगरिकन अझ सदनको नियमित अधिवेशन डाक्नैपर्ने संवैधानिक व्यवस्था अनुसार सदन डाक्नुपर्ने ठिक त्यसको मुखमा सदन भंग गरियो । त्यसकारण यो निर्मम छ । निरंकुश छ । यो तानाशाहीको नांगो रुप हो ।” उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने ।

साथै त्यसको विरुद्ध सबै जना एकतावद्ध भएर जानुपर्नेमा समेत प्रचण्डले जोड दिएका छन् । संसद भंगपछि फरक फरक समूहमा बसिरहेको केन्द्रीय समितिको बैठकका विषयमा कुरा गर्दै प्रचण्डले केपी शर्मा ओली समूहले आफूखुसी केन्द्रीय समिति विस्तार गर्नु लज्जास्पद भएको समेत दावी गरे ।

उनले भने, “हामी यता ३१५ जना गरी जम्मा भएका छौँ ४ सय वरीपरीको केन्द्रीय समितिमा । उता १ सय वरीपरीमा जम्मा भएर ११ सय वरीपरी भैयौ हामी भनेर घोषणा गर्नेजस्तो लज्जास्पद, अवैध र अनैतिक काम के हुन सक्छ ?”

साथै आफूहरुलाई निर्वाचन आयोगप्रति भरोसा भएको विश्वास व्यक्त गरेका छन् । निर्वाचन आयोगले संविधान, निर्वाचन ऐन र नियमको व्यवस्था अनुसार पार्टीको वैधानिक हैसियत पार्टीको नाम, पार्टीको चुनाव चिन्ह र लोगो आफूहरुलाई प्रदान गर्ने विश्वास रहेको बताएका छन् । तर संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर निर्मम रुपमा संसद भंग गरिनुले आफूहरु ससंकित भएको बताउँदै सशरिर निर्वाचन आयोग गएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?