काठमाडौं । केही वर्ष अगाडि पर्यटकको खचाखच हुने ताप्लेजुङको पदमार्गमा अहिले चारैतिर सडक सञ्जालले जोडिएसँगै पदमार्ग मासिन थालेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११, लालीखर्कका राजकुमार विष्ट अहिले लगभग ३५ वर्ष पुगे। उनलाई सामान्य होटलमा बच्चा हुँदादेखि कञ्चनजङ्घा हिमाल हेर्न जाने पर्यटक आएर बस्ने गरेको सम्झना छ ।
उनी बताउछन “होटल व्यवसाय मेरा बाबु, बाजेले गर्दै आएको पेशा हो । यसैबाट हाम्रो परिवारको जीविकोपार्जन हुन्थ्यो । बालबच्चालाई राम्रो शिक्षा र उचित रहनसहन र लत्ताकपडाको व्यवस्था हुने गथ्र्यो ।’’ उनको परिवारले यस क्षेत्रमा पर्यटकको सेवामा लगभग ४० वर्षसम्म गुजारिसकेको छ ।
अहिले उनका बुबाआमा उमेरले पाका भइसकेका छन । अबको होटलको जिम्मेवारी राजकुमारको काँधमा आएको छ । उनले पनि पाँच÷सात वर्ष अगाडिसम्म राम्रै आम्दानी गरिरहेको थियो । होटल व्यवसाय राम्रै चल्थ्यो तर अहिले दोधारमा छन उनी। बिष्टलाई अहिले कसरी जीविका चलाउने भन्ने चिन्ताले सताइरहेको छ । वैकल्पिकरुपमा अन्य कुनै व्यवसाय पनि गर्न सकिने अवस्था नरहेकाले सो स्थानमा बसेर के गर्ने भन्ने चिन्ताले सताउन थालेको उनी बताउछन।
लालीखर्क ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका–११ मा रहेको सुन्दर एक बस्ती हो । समुन्द्री सतहबाट दुई हजार २०० मिटरको उचाइमा अवस्थित यो स्थान सुकेटार विमानस्थलबाट मात्रै करीब तीन घण्टाको पैदल दूरीमा रहेको छ ।
नेपाल सरकारले तोकेको कञ्चनजङ्घा साउथ बेसक्याम्पको बाटोअन्तर्गतको पहिलो क्याम्पका रुपमा रहेको यो स्थानमा विदेशी पर्यटकको ओइरो लाग्ने गर्दथ्यो । पर्यटक बास बस्न नपाएर नजिकैको बारीमा टेन्ट टाँगेर बस्नुपर्ने अवस्था थियो । स्थानीयरुपमा उत्पादन भएका खाद्यवस्तु र अन्य सामानहरुले राम्रो मूल्य पाएका थिए । नियमितरुपमा आन्तरिक तथा बाह्य पर्यटकको आवातजावत भएपछि त्यस क्षेत्रको चेतनास्तरमा समेत विकास भएको पाइन्छ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रको तथ्याङ्कमा यस क्षेत्रमा पाँच वर्ष अगाडि औसतमा वार्षिक ७०० पर्यटक आउने गर्दथे भने अधिकांशले कञ्चनजङ्घाको दुवैतर्फबाट पदयात्रा गरेर मात्रै फर्कन्थे । यो हिसाबमा लालीखर्कको रुट भएर जाने पर्यटक तमोरखोलातर्फबाट फर्कन्थे भने तमोरखोलातर्फबाट जाने पर्यटक यही फिर्ता हुन्थे ।
बाह्र घरजति रहेको यो स्थानमा अहिले चार घर मात्रै छन् । प्रायः शुरुदेखि यस स्थानमा व्यवसाय गर्ने मानिसले अहिले लालीखर्क छाडिसकेका छन् । धेरैले व्यवसाय बदलेका छन् भने कतिपय वैदेशिक रोजगारीतर्फ पलायन भएका छन् । पुख्र्यौली व्यवसायलाई अझै कुरेर बसेका राजकुमार एक्ला व्यक्ति हुनुहुन्छ । धेरै चिसो, कृषि उत्पादनको सम्भावना न्यून, आयआर्जनको बाटो कम र विभिन्न सेवा सुविधा पनि कम हुन थालेपछि यो स्थान अहिले रित्तो र सुनसान जस्तो बनेको छ ।
पुराना घर क्रमशः जीर्ण हँुदै गइरहेका छन् भने धेरै घर खाली देखिन्छन् । मानिसको आवतजावत पनि कम हुने भएकाले सामान्य चियापसल पनि चल्न गाह्रो रहेको विष्ट बताउछन । अब बाँकी रहेको चार घर पनि बसाइँसराइ भएर विस्थापित हुने चरणमा पुगेको उनको भनाइ छ ।
लालीखर्कको अवस्थाले कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकको यात्रामा सडक यातायातले पारेको प्रभावलाई प्रष्ट गर्दछ । जिल्लाको एक मात्र सुकेटार विमानस्थल र मोटर बाटोबाट सदरमुकाम फुङ्लिङ भएर उत्तरी र दक्षिणीतर्फको कञ्चनजङ्घा हिमाललाई अवलोकनको पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटक दुई फरक बाटो भएर जाने गर्दछन् । कुनाकन्दरामा सडक यातायात पुग्न थालेपछि यो पदमार्गमा हिँड्ने विदेशी पर्यटकको सङ्ख्या ह्वात्तै घट्न पुगेको स्थानीय होटल तथा घरबास व्यवसायीहरु बताउँछन् ।
सदरमुकामबाट दक्षिणतर्फको बाटोमा सुकेटारबाट लालीखर्क, सिञ्चेपु भञ्ज्याङ, फुम्पेडाँडा, याम्फुदिन हँुदै लासे, तोरोङ्देन, चेराम, राम्जेर र ओक्ताङ बेसक्याम्पसम्म रहेकामा हाल याम्फुदिनसम्म सडक सञ्जाल पुगिसकेको छ भने उत्तर बेसक्याम्पतर्फको बाटो सुकेटार वा सदरमुकामबाट मित्लुङ, छिरुवा, सेकाथुम, अम्जिलेसा, ग्याब्ला, घुन्सा, खम्बाचेन, लोनाक र पाङ्पेमा बेसक्याम्पको बाटोमा हाल सेकाथुम नजिकसम्म सडक सञ्जाल पुगिसकेको छ ।
कुनै समय झलमल बनेको लालीखर्क मात्रै होइन, अहिले सिरीजङ्घा ३ र ४ को सिमानामा अवस्थित सुन्दर बस्ती काँडे भञ्ज्याङ पनि सुनसान बनेको छ । त्यहाँ सञ्चालन भएको पाँच होटल स्थानीयस्तरका पदयात्रीलाई सामान्य सेवा दिएर दिन काटिरहेका छन् । विगत ४० वर्षभन्दा अगाडिदेखि होटल र साना पसल व्यवसाय गरेर बसिरहेका स्थानीय सुवास बस्नेत भन्छन, “विगतमा यहाँ पर्यटकको आवागमन राम्रो थियो । हामीले पनि त्यो समयमा सकेसम्म राम्रो सेवा दिएका थियौँ र भनेको जस्तै आम्दानी पनि गर्यौं ।” त्यसैको भरमा छोराछोरीलाई राम्रो शिक्षा प्रदान गर्न सक्यौँ र उनीहरु अहिले राम्रो रोजगारी गरेर जीविकोपार्जन गरिरहेका छन् ।
अहिले पनि यहाँका युवा होटल व्यवसायलाई व्यवस्थित बनाएर थप लगानी गर्ने तयारीमा छन् तर यसको भविष्य आउँदो दिनमा राम्रो देखेका छैनन् । पहिला पर्यटक आउँदा निकै परसम्म लिन गइन्थ्यो र ल्याएर कसको होटलमा राख्ने होडबाजी चल्थ्यो, कहिले पर्यटक बस्ने ठाउँ नपाएर भौँतारिन्थे तर अहिले वर्षमा १०÷१५ बाहेक पर्यटक हिँडेको देखिंदैन ।
सिरीजङ्घा–६ को फुम्पे डाडाका पुराना होटल व्यवसायी गोपी भट्टराई र मामाङ्खेका विशाल मावो पनि अब यो व्यवसायबाट केही गर्छु भन्ने आश नरहेको उनको गुनासो छ । मावो भन्छन, “यति लगानीमा होटल सञ्चालन गरियो तर आम्दानी लिने बेलामा पर्यटक अर्को सडकको बाटो भएर सिधै याम्फुनी पुग्छन् । भोलि अझ सडक राम्रो भएपछि त झन् पदयात्रा गर्ने पर्यटक नहुने भएकाले अब वैकल्पिक व्यवसायमा लाग्नु पर्ने अवस्था छ ।” स्थानीयवासीको पनि कम आवातजावत हुने यस स्थानमा होटल व्यवसाय नै गरेर बस्ने अवस्था नहेको भट्टराईको भनाइ छ । सुकेटारबाट याम्फुदिनसम्मको चार दिनको पैदल यात्रा अचेल पर्यटकले पाँचथरको गणेशचोक हुँदै सिनाम, आम्वेगुदिन हुँदै एक दिन हिँडेर दुई दिनमै पूरा गर्दछन् ।
सदरमुकामबाट तीन दिनको पैदल दूरी कायम गरिएको फुङ्लिङदेखि लेलेप सेकाथुमसम्मको पैदल दूरी पर्यटकले गाडीमार्फत एकैदिनमा पूरा गर्छन् । यता फुङ्लिङ नगरपालिका–१० को मित्लुङमा पर्यटकका लागि बनाएका होटलका संरचनाहरु क्रमशः अन्य प्रयोजनमा प्रयोग भइरहेको छ भने छिरुवामा रहेका होटलले स्थानीयरुपमा आवतजावत गर्ने यात्रीलाई सेवा दिइरहेका छन् । करीब २३÷२४ दिनको कञ्चनजङ्घा राउण्ड पदयात्राका लागि धेरै लामो दिन भएको गुनासो पर्यटकबाट आउने भएको र सडक यातायात भएपछि थप सहजता भएकाले पर्यटक यस क्षेत्रमा सडक पुगेपछि गाडीको यात्रा सहज हुने गरेको पर्यटक गाइड मिङ्मा तामाङ बताउँछन् ।
हाल सडक सञ्जाल पुगेको स्थानसम्म विगतमा पर्यटकको सेवाका लागि थुप्रै होटल, खाजा पसल थिए भन्ने आधिकारिक तथ्याङ्क छैन । धेरैले व्यवसायलाई त्यागेर पलायन भएका छन् भने कसैले अर्को व्यवसाय शुरु गरेका छन् । अहिले पर्यटककै सेवामा रहेका केही स्थानका होटल तथा घरबासमा लालीखर्कमा चार, काँडेभञ्ज्याङमा पाँच, फुम्पेडाँडामा दुई, मामाङ्खेमा तीन, मित्लुङमा दुई, छिरुवामा दुई, तापेथोकमा एक, पिपलडाँडामा तीन वटा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया