कमला अर्याल- काठमाडौं । सरकारले सामाजिक उत्तरदायित्व निर्वाह गर्न शुरु गरेको कोरोना बीमा योजनामा सरकारदेखि सम्बन्धित सरोकारवालाहरु सबै चुकेका छन् ।
सरकारले पर्याप्त मात्रामा यस सम्बन्धी छलफल गर्न नसक्दा कोरोना बीमा योजना चुकेको हो । सन् २०१९ को अन्त्यतिर शुरु भएको कोरोना महामारी हरेक दिनजसो बढ्दै गएपछि कोरोना बीमा गर्ने पनि बढे । जसकारण बीमा कम्पनीहरुले भुक्तानी गर्न नसक्दा समस्या निम्तिएको थियो ।
सरकारले कोरोना बीमा योजना ल्याउँदै गर्दा छिमेकी मुलुक भारत तथा चीनमा कोरोना बीमा भइसकेको थियो । भारतले छोटो अवधिका लागि कोरोना बीमा योजना ल्याएको थियो । त्यसैकारण भारतमा यो योजना सफल पनि भएको छ । तर नेपालको सन्दर्भमा कोरोना बीमा योजना ल्याउँदा हतारमा भारतकै नीतिलाई जस्ताको त्यस्तै कपी पेस्ट गरेपनि छोटो अवधिको बीमा योजना लागु गर्न सकेन । महामारीको बीमा नहुने भएपनि सरकारले आम जनताको राहतको लागि कोरोना बीमा सम्बन्धी योजना ल्याएको थियो । यसो भन्दै गर्दा यसमा सरकार, बीमा समिति, बीमा कम्पनी तथा यसका सरोकारवालाहरु सबै चुकेका छन् । आखिर किन चुके त सबै ?

सरकार तथा यससँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरु चुक्दा कोरोना बीमा प्रभावकारी नभएको हो । हरेक दिन जसो कोरोनाका बिरामीहरु बढ्दै गएपछि बीमा कम्पनीहरुले भुक्तानी नै गर्न नसक्ने अवस्था आएको थियो । जसका कारण बीमा कम्पनीहरुले भुक्तानी गर्न नसकेर लामो समय होल्ड गर्नु परेको थियो ।
त्यति मात्रै होइन, कोरोनाको चाप बढेपछि बीमा समितिले समेत तत्काल कोरोना बीमालेख जारी नगर्नु भन्ने निर्देशन दिएको थियो । पछि बजेटमा व्यवस्था भएपछि पुनः बीमालेख जारी गर्न शुरु भएको थियो ।
हतारमा निर्णय गर्दा कहीँ न कहीँ चुकेको समितिले स्वीकार गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमाको विषयमा अन्य मुलुकमा राम्रो अभ्यास भएपनि त्यसलाई आफूहरुले सच्याउन नसकेको स्वीकार गरे । ‘हामीले बाहिरको अभ्यास त हेरेका हौँ, उनीहरुले सर्ट टर्मका लागि गरेका छन्, धान्न सकिन्छ भन्ने लाग्यो तर त्यस्तो भएन,’ कार्यकारी निर्देशक पौडेलले भने ।
बीमा कम्पनीहरुले कर्पाेरेट हाउसमा सामूहिक रुपमा बीमा गराउँदा चाप बढेका कारण धान्न नसक्ने अवस्थामा पुगेको उनले स्वीकारेका छन् ।
कोरोना बीमाको दाबीका लागि बीमितको नाम, रोग शुरू भएको मिति र विवरण, डाक्टरसँग परीक्षण गराइ रोग प्रभाणित भएको कागजात लगायत आवश्यक पर्छ ।
पछिल्लो तथ्यांक अनुसार १५ हजार ३ सय ८१ जनाले कोरोना बीमा वापतको दाबी भुक्तानी प्राप्त गरेको समितिले जनाएको छ । समितिका अनुसार यस अवधिमा १ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी भुक्तानी भइसकेको छ । त्यस्तै, निजी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको नतिजा रुजु गराउन ३ हजार ५ सय ५५ जनाको फाइल स्वास्थ्य मन्त्रालय पठाएको छ । त्यस्तै, २ हजार ६८६ जनाको भुक्तानी प्रक्रियामै रहेको छ ।
त्यस्तै, भुक्तानीका लागि आश्यक कागजात पूरा नभएका २ हजार ५३ फाइल सम्बन्धित बीमा कम्पनीहरुमा फिर्ता पठाएको छ । यसैगरी ७६ वटा फाइलले भुक्तानीको मापदण्ड पूरा नगरेको तथा दोहोरो दाबी गरेकाले रद्ध गरिएको समितिले जनाएको छ ।
सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमा गरिरहेका छन् । उनीहरुले ‘पुल’ मार्फत् कोरोना बीमा गरेका छन् । कोरोना बीमा ५० हजार वा १ लाख रुपैयाँको गर्न सकिन्छ । ५० हजार रुपैयाँको कोरोना बीमा गर्ने व्यक्तिले ५ सय रुपैयाँ शुल्क (प्रिमियम) तिर्नुपर्छ । त्यस्तै, १ लाख रुपैयाँको बीमा गर्नेले १ हजार तिर्नुपर्छ । परिवारकै बीमा गर्दा प्रति व्यक्ति ६ सय रुपैयाँ तिर्नुपर्छ । ५० हजारको कोरोना बीमा गर्दा प्रिमियम प्रति सदस्य ३ सय रूपैयाँ लाग्छ । यस बीमामा सरकारको अनुदान प्राप्त गर्न जुन स्थानमा बसेको हो त्यस वडाको सिफारिसमा कम्तीमा एक महिना सोही स्थानमा बसोबास गरेको हुनुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया