दैलेखमा कोरोनाबाट एकको मृत्यु भएसँगै कर्णालीमा मृतकको संख्या २५ पुग्यो

RSS
0
Shares

कर्णाली । कर्णालीमा बिहीबार एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट नारायण नगरपालिका–२ दैलेख निवासी ८५ वर्षीय पुरुषको मृत्यु सुर्खेतमा भएको हो ।

प्रादेशिक अस्पतालमा ल्याइएका उनको उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । “मङ्सिर २६ गतेका दिन ती पुरुषलाई श्वास फेर्न कठिनाइ, खोकी, ज्वरो र खानामा रुचि नहुने समस्या भएपछि प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो”, अधिकृत कँडेलले भने, “सोही दिन नै प्रदेश अस्पताल सुर्खेतबाट जिन एक्सपर्ट पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।”

सङ्क्रमण पुष्टि भएलगत्तै प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरेर प्रोटोकलअनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभई उपचारकै क्रममा मृत्यु भएको उनले बताए । यससँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुगेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?