धरानको विष्णुपादुका पर्यटन गाउँमा छनोट

RSS
0
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाले वडा नं २० लाई ‘पर्यटन गाउँ’ छनोट गरेको छ । उक्त वडामा प्रसिद्ध धार्मिकस्थल विष्णुपादुका, कोकाह, चिण्डे डाँडा, ऐतिहासिकस्थल साँगुरीगढी र सुलिकोटलगायतका रमणीयस्थल रहेका छन् ।

आज बिहिवार बसेको कार्यपालिका बैठकले विष्णुपादुकालाई पर्यटन गाउँका रुपमा थप विकास गर्न ‘पर्यटन गाउँ’छनोट गरेको हो । क्यानोनिङ, पदमार्ग, प्याराग्लाइडिङ, साइक्लिङलगायत सम्भावना भएको विष्णुपादुकालाई थप विकास गरी पर्यटकीय केन्द्र बनाउन उपमहानगरपालिका कार्यपालिका बैठकले पर्यटन गाउँ छनोट गरेको वडाध्यक्ष मणिराम राईले जानकारी दिए । उक्त गाउँको विकासका लागि योजना बनाउन उपमहानगरको पर्यटन विकास समिति र पर्यटन महाशाखालाई जिम्मेवारी दिइएको छ । यस्तै बैठकले वडा नं २० विष्णुपादुकामा पाँच श्ययाको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

विष्णुपादुका मन्दिर

विष्णुपादुका पितृ देवतालाई स्मरण गरी उनीहरुको नाममा तर्पण तथा पिण्ड दिने पितृकर्मका रुपमा लिइन्छ । ब्रह्मपुराणका अनुसार विष्णुपादुका १७औँ प्रलयकाल पद्मकल्पमा भगवान् विष्णु सुतेको शिला मानिन्छ । यसै ठाउँबाट विष्णुले आफ्नो कानबाट उत्पन्न भएका मधु र कैटभ नामका दुई शक्तिशाली राक्षसलाई मारी उनीहरुको हाड नै शिला भएको र त्यस शिलामा भगवान् विष्णु प्रसन्न भई सुतेको वर्णन रहेको पाइन्छ ।

हिमवत्खण्डको बराह पर्वतबाट निस्किएको कोका खोला र कौशिकी सङ्गमलाई बराहतीर्थ मान्दै त्यस स्थानमा पितृ श्राद्ध गर्ने व्यक्ति पितृलोक जाने वर्णन पाइन्छ । त्यही भएर यस ठाउँमा आफ्ना सन्ततिले तर्पण पिण्ड प्रदान गर्छन् भन्ने आशाले आउने गर्दछन् ।

विसं २०७१ मङ्सिर २६ गते सरकारको निर्णयानुसार छुट्टै गरेको विष्णुपादुका गाविसलाई धरान उपमहानगरपालिकामा गाभिएपछि वडा नं २० मा बनेको हो । वडाध्यक्ष राईका अनुसार हाल मङ्गलबारे–विष्णुपादुकासम्म सात किमी सडक ३६ लाखको लागतमा ग्राभेल सडक बनेको छ । मङ्गलबारे–विष्णुपादुका भञ्ज्याङ–चाँदी भञ्ज्याङसम्मको २३ किमी सडकको स्तरोन्नति गर्ने काम भइरहेको छ । करीब ३० लाखको लागतमा अस्थायी प्रहरी पोष्ट बनाइएको छ ।

चिण्डेडाँडामा जयकुमार राईको सांसद कोषबाट भ्यूटावर निर्माण गरिएको छ । धरान उपमहानगरपालिकाको पर्यटन समितिले क्यानोनिङका लागि पूर्वाधार तयार गरिरहेको छ । चिण्डेडाँडाबाट प्याराग्लाडिङ उडान पनि हुँदै आएको अध्यक्ष राईले जानकारी दिए । कृषि पर्यटनको पनि उत्तिकै सम्भावना रहेको छ । उपमहानगरले कृषि पकेट क्षेत्र घोषणा गरी अदुवा, अम्लिसो, बेसार उत्पादनका लागि जोड दिँदै आएको छ । आधुनिक उन्नत पशुपालनमा पनि वडाले जोड दिएको अध्यक्ष राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?